बुद्ध चेतना, पर्यावरण र मानव
जीवन बच्ने र मर्ने त्रासदीपूर्ण परिवेशमा हामी बाँचिरहेका छौं। बाँच्नका लागि हरसम्भव उपाय अपनाएर सुरक्षित हुने कोसिस गरिरहेका छौं। अहिले मानव समाजले सामना गर्नुपरेको अस्तित्वको संकट पनि प्रकृतिसँगको मानवको असन्तुलित सम्बन्धको कारणले नै भएको हो। मानवको पर्यावरण प्रणाली र अन्य जीव प्राणीसँगको सम्बन्धको प्रकृति, उसको खानपिन र सामाजिक संस्कृति इत्यादिले सिर्जना गरेको संकट हो। पशुपन्छी तथा अन्य जीवबाट मानवमा संक्रमण भएका रोग मानवले पर्यावरण प्रणालीमा ल्याएको विचलनका कारणले भएका तथ्य प्रकाशमा आएका छन्। हामी सबैलाई थाहा छ, हामीले एक दिन यस धर्तीबाट बिदा लिनुपर्छ। तर जब अप्रत्याशित घटना हुन्छन् र त्यस्ता घटनाले हाम्रो अस्तित्व संकटग्रस्त हुन्छ तब हाम्रो सोच, चिन्तन र मनोविज्ञानले ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ।
संकटमा परेको आफ्नो अस्तिव जोगाउनुभन्दा ठूलो सफलता अर्को केही हुन सक्दैन भन्ने सबै जीव प्राणीमा हुन्छ नै। मानव त जीव प्राणीमा चेतनाको उच्चतम विकास भएको प्राणी हो। लाखौं वर्षको विकासको क्रममा प्राकृतिक छनौटको प्रक्रियाबाट मानव चेतनाको विकास भएको हो।
दम्भी मानव
विगत ६० वर्षदेखि हालसम्म आइपुग्दा विज्ञान र प्रविधिको तीव्र विकासले मानवलाई प्रकृतिको एउटा डरलाग्दो प्रतिद्वन्द्वीको रूपमा खडा गरेको छ। यसले उसलाई धेरै दम्भी बनाएको छ जसको परिणामस्वरुप प्रकृतिमाथि जसरी पनि विजय प्राप्त गर्नुपर्छ भन्ने सोचबाट ऊ परिचालित र निर्र्देिशत भएको छ। प्रकृति, जीवजगत् र पृथ्वीको पर्यावरण प्रणालीसँगको उसको अन्योन्या िश्रत सम्बन्ध र अन्तरनिर्भरतालाई बुझेर बुद्धिमत्ताापूर्ण सोच, व्यवहार, र क्रियाकलापबाट आफ्ना आवश्यकता पूरा गर्नुको सट्टा त्यसको ठीक विपरीत प्रकृति र पृथ्वीको पर्यावरण प्रणालीमाथि नै धावा बोल्नु उसको मुर्खतासिवाय केही हुन सक्दैन। मानवले विज्ञान र प्रविधिलाई प्रकृतिमाथि विजय प्राप्त गर्ने उद्देश्यले हतियारको रूपमा प्रयोग गर्दै आएको छ जो विल्कुल गलत र अनैतिक पनि छ।
जब प्रकृतिको सन्तुलन ध्वस्त हुन्छ र फेरि प्रकृति आफ्नो सुरुको सन्तुलनमा फर्किन नसक्ने अवस्थामा पुग्छ, तब मानवताले आफ्नै विनासको दुष्चक्रमा फस्नुपर्ने अवस्था सिर्जना हुन्छ।
मानवले आज भिन्न युगमा प्रवेश गरिसकेको छ। यस युगमा प्राकृतिक छनौटभन्दा पनि सांस्कृतिक छनौट (सामाजिक, आर्थिक, विज्ञान तथा प्रविधि) ले मानवको चेतना जगतलाई प्रभावित पार्ने मात्र होइन कि ऊ यो नयाँ युगमा कसरी बाँच्न चाहन्छ, त्योसमेत निर्धारण गर्ने छ। यदि मानव चेतनाले वर्तमान अवस्थामा ऊ बाँचिरहेको संस्कृतिलाई रूपान्तरण गरी प्रकृति तथा पृथ्वीको पर्यावरण प्रणालीसँग बिग्रेको सम्बन्धलाई पुनस्र्थापना गरी पर्यावरणीय संस्कृति तथा सभ्यताको सुरुवात गर्ने सके, भावी सन्तति र मानव अस्तित्वको दिगो व्यवस्थापन हुन सक्छ।
लाखौं वर्षको विकासको प्रक्रियाबाट सिर्जना भएको प्राकृतिक सन्तुलन जब मानव क्रियाकलापबाट पुनस्र्थापना हुनै नसकिने गरी विखलन हुन्छ, त्यस्तो अवस्थामा प्रकृतिले नयाँ सन्तुलन कायम गर्न प्रतिक्रियास्वरूप जुन क्रियाकलाप देखाउने हुन्छ, त्यसले सोच्नै नसकिने किसिमका विकराल परिस्थितिको सिर्जना गर्छ। यही अवस्थाले मानवलगायत प्राणी जगत्को अस्तित्व नै संकटग्रस्त बनाउने हुन्छ। मानवले समयमा नै आफ्नो बुद्धि, विवेक र चेतनालाई पर्यावरणीय संस्कृति सिर्जना गर्ने दिशामा विज्ञान-प्रविधि र आफ्ना दैनिक क्रियाकलापलाई चलायमान नगराउने हो भने आउने दिनहरूमा दोहोरिरहने यस्ता महाविपत् र संकटको सामना गरिरहनुपर्ने हुन्छ।
मानवले विगत ६÷७ दशकमा प्रकृति तथा पृथ्वीको भौतिक, रासायनिक, जैविक तथा पर्यावरण प्रणालीलाई यति तीव्र गतिमा नकारात्मक दिशामा रूपान्तरण गरिसकेको छ कि एकातिर यसले प्रकृतिको सन्तुलनमा विचलन ल्याउने काम गरेको छ भने, अर्कोतिर प्रकृतिको रचनात्मक तथा पुनरुत्पादन गर्ने क्षमता नै ध्वस्त बनाउने काम गरेको छ। धेरै लामो समयको निरन्तर विकासवादी प्रक्रियाबाट अस्तित्वमा आएको प्राकृतिक तथा पर्यावरण प्रणालीको सन्तुलनमा विचलन आउनाले, प्राकृतिक प्रणालीले नयाँ सन्तुलनमा जानुपर्दा, परिवर्तनको गति, स्वरूप र ढाँचा मानवका लागि कल्याणकारी नहुनु स्वाभाविक हो। प्रकृतिको नयाँ समतोलमा मानवले आफूलाई अनुकुलनीकरण गर्ने प्रक्रियामा धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। यसबाट मानव अस्तित्व नै लोप हुनसक्ने अवस्था आउन सक्छ। मानवले प्रकृतिमाथि विजय प्राप्त गर्न सुरु गरेको यो युद्घ एकदिन आफ्नैविरुद्ध लड्नुपर्ने छ भनेर सोचेको थिएन।
मूलधारको बजारमुखी नाफाखोर आर्थिक प्रणाली
अहिले चलिरहेको मूलधारको बजारमुखी र नाफाखोर आर्थिक प्रणालीले जमिन, समुद्र र पृथ्वीको भूमण्डलीय प्रणालीबाट जुन मात्रामा स्रोतसम्पदा उत्खनन गरी एकातिर केही सीमित मानिस तथा बहुदेशीय निगम कर्पोरेसनको धनदौलत तथा सम्पत्तिा आर्जन गर्ने अति लालसी मनोकांक्षा पूरा गरिरहेको छ भने,
अर्कोतिर प्रकृतिको संरचना, प्राकृतिक प्रक्रिया तथा मानिसलगायत सम्पूर्ण जीवजगतको अन्तर्सम्बन्ध र अन्नान्योन्याश्रित अन्तरनिर्भरताको जालो नै ध्वस्त पार्दै लगेको प्रस्ट नै छ। जब प्रकृतिको सन्तुलन ध्वस्त हुन्छ र फेरि प्रकृति आफ्नो सुरुको सन्तुलनमा फर्किन नसक्ने अवस्थामा पुग्छ, तब मानवताले आफ्नै विनासको दुष्चक्रमा फस्नुपर्ने अवस्था सिर्जना हुन्छ। वर्तमान अवस्थाले मानव सभ्यतालाई ठीक यही बिन्दुमा पुग्न सघाउँदै लगेको छ। पृथ्वीको पर्यावरणमा देखा परेका हानिकारक तथा नकारात्मक
लक्षणहरुले यो प्रस्ट पार्दै लागेका छन्। दसौं लाख जैविक विविधताको लोप, वायुमण्डलमा कार्बोन र मेथिन ग्यास अत्यधिक मात्रामा बढ्नु, ओजोन तह ध्वस्त हुनु, हिमालय र आर्टिक क्षेत्रमा तापक्रम बढ्नुको साथै बरफ तीव्र गतिमा पग्लँदै जानु, सामुद्रिक सतह बढ्नु र मानव सहरहरू डुबानमा पर्नु, आँधी, हुरी, समुद्री आँधी, आगलागी जस्ता घटना तीव्र गतिमा बढ्नु, भूमध्यक्षत्रीय जंगल र अमाजोंन जंगल तीव्र गतिमा विनाश हुँदै जानु, वायुमण्डल तथा पृथ्वीको तापक्रम तीव्र गतिमा बढ्नु, खतरनाक रोगका नयाँ किटाणु तथा जीवाणु देखा पर्नु र जलवायु परिवर्तनले मानिसलगायत प्राणीजगतको अस्तित्व नै संकटमा पर्दै जानु यस्ता केही उदाहरण मात्र हुन्।
मानव चेतनामा परिवर्तन खाँचो
प्रकृतिसितको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउने, प्राकृतिक प्रक्रिया र पृथ्वीको पर्यवरणीय प्रणालीलाई ध्वस्त हुनबाट बचाउने विज्ञान तथा प्रविधको आजको आवश्यकता हो न कि प्रकृतिमाथि विजय प्राप्त गर्ने र पृथ्वीको पर्यावरणीय प्रणालीलाई नैध्वस्त गर्ने विज्ञान तथा प्रविधको। हालसम्मको विज्ञान तथा प्रविधिको विकासको मूलधार यही दिशामा उद्वेलित छ।
कस्तो खालको विकास मानिसलाई उपयुत्ताm हुने हो, त्यो आफैंमा विकासको मात्र प्रश्न नभएर नैतिक प्रश्न पनि हो। विज्ञान तथा प्रविधिले मानिसको चेतनालाई प्रभाव त पार्छ नै तर मानव चेतना त्यसको दास हुनबाट बच्न सक्नुपर्ने हुन्छ विज्ञान तथा प्रविधिको दिशानिर्देश गर्ने पनि मानिसको चेतना नै हो। अहिलेको मानव चेतनामा व्यापक परिवर्तनको आवश्यकता छ। वातावरणी तथा पर्यावरणीय चेतना मानिसको मूलधार चेतना हुनसक्दा मात्र प्रकृतिसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउन सकिने हुन्छ।
जबसम्म मूलधारको बजारमुखी र नाफाखोर आर्थिक प्रणालीका आधारभूत मान्यता तथा परिकल्पना प्राकृतिक पुँजीजस्तो जमिन, जल, हावा, जैविक विविधता, पर्यावरण प्रणालीको जीवन धान्ने सेवा तथा प्रक्रियालाई नाफा तथा नोक्सानको विश्लेषणमा आन्तरिकीकरण गर्ने गरी परिवर्तन गरिँदैन र विकासको लक्ष्य र उद्देश्य मानिसको आवश्यकता पूरा गर्दै प्राकृतिक पुँजीलाई घट्न नदिनुका साथसाथै त्यसको वृद्घि गर्ने विकासको नैतिक अवधारणाबाट निर्देशित हुँदैनन्, तबसम्म दिगो विकास र प्रकृति संरक्षणको कुरा गर्नु हास्यस्पद हुन्छ। यो बिल्कुल सम्भव
छ तर मानिसको आवस्यकता पूरा गर्नेभन्दा पनि धन जम्मा गर्ने लालची र दम्भी स्वभावको संस्कृतिले यो हुन दिएको छैन। महात्मा गान्धीले मानव स्वभावको यो संस्कृति बुझेर नै भन्नुभएको यो भनाइ निकै सान्दर्भिक र मननयोग्य छ। गान्धीले भन्नुभएको छ- पृथ्वीसँग मानिसको आवश्यकता पूरा गर्ने प्रशस्त स्रोतसम्पदा छ तर उसको लालच पूरा गर्ने सम्पदा भने छैन।’
बुद्ध चेतना
बुद्ध दर्शन नै एक यस्तो दर्शन हो जसले मानवको प्रकृति र सम्पूर्ण जीवजगतसँगको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालोका बारेमा वैज्ञानिक व्याख्या दिन सकेको छ। बुद्धका उपदेशहरू मानवले प्रकृति र सम्पूर्ण जीवजगतसितको अन्तरसम्बन्ध र अन्तरनिर्भरताको सन्तुलन कायम गरी आफ्नो दुखः कम गरी कसरी एउटा सार्थक र अर्थपूर्ण जीवन बाँच्न सक्छ भन्ने बारेमा लक्षित रहेका छन्। बुद्ध दर्शनले अंगीकार गरेका विचार र चिन्तन आज धेरै सान्दर्भिक भएका छन् जो प्रकृति तथा पर्यावरण प्रणालीको संरचना तथा प्रक्रियाहरूको अध्ययन गर्ने प्रणाली सिद्घान्तसँग मेल
खान्छन्। अनित्यता प्रकृतिको नियम हो। संसारमा कुनै पनि वस्तु नित्यरूपले शाश्वत छैन। सबै क्षणभंगुर छ। समयको चक्रमा आउने र जाने भई नै रहन्छ। हामी सबै शून्यमा विलीन हुन्छौं। यो शून्यमा समाहित हुनुभन्दा अगाडिको समय हाम्रा
लागि अति महत्तवपूर्ण हुन्छ। हामी हाम्रो र सम्पूर्ण जीवजगतसहितको प्रकृतिको आयु लम्ब्याउन र दुःख कम गर्नका लागि आफ्नो चेतनाको उच्चतम विकास गर्न सक्छौं ता कि हामी अनुकम्पा, करुणा, बुद्धि र विवेकको प्रकाशबाट आफूलाई यो अन्तरसम्बन्ध र अन्तरनिर्भरताको जालो बचाउन निर्देशित गर्न सकौं। यो नै मानव र सम्पूर्ण प्रकृति जीवजगतको सहअस्तित्वको निरन्तरताको आधारशीला हो।
हाम्रो अस्तित्व संकटमा परेको यो समय हाम्रा लागि आत्मसमीक्षा र आत्मनिरीक्षण गर्ने समय पनि हो। शत्तिाmशाली तथा प्रभावशाली देशका राजनीतिज्ञ, राजनीतिक अर्थशास्त्री, नीतिनिर्माणकर्ता, बहुदेशीय निगम तथा कर्पोरेट संसारका सञ्चालक र कुलीन धनाड्य सबैले आत्मसमीक्षा गरुन् र सोचुन् कस्तो संसार उनीहरू चाहन्छन् ?
आज प्रकृति र पृथ्वीको पर्यावरण प्रणाली बचाउन बुद्धचिन्तन नै महत्तवपूर्ण मार्गदर्शन हो। बुद्ध चेतनाले नै जगत् र प्रकृतिको हित गर्न सक्छ भन्ने चेत उनीहरू सबैमा आओस् !
-प्रा. डा. उप्रेती अमेरिकाको भर्जिनिया राज्यमा बस्छन्।