लकडाउनमा मुस्ताङमा १६ घन्टा बढी लोडसेडिङ
जोमसोम : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइस रोकथाम तथा नियन्त्रण भन्दै सरकारले चैत्र १० गते मुलुक लकडाउन गर्यो ।लकडाउनले मुलुक ठप्प छ । लकडाउनसँगै मुस्ताङको पर्यटन व्यवसाय सुस्ताएको छ ।जिल्लाका सयभन्दा बढी होटल तथा रेष्टुरेन्ट पर्यटक नहुँदा खाली छन् ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र कागबेनी श्राद्धस्थल समेत सुनसान बनेका छन् । यस्तै ,संघ ,प्रदेश र स्थानीय तहका पूर्वाधार विकासका काम सबै रोकिएका छन् । पूरै मुलुक ठप्प हुँदा मुस्ताङमा भने दैनिक १६ घण्टा बढी लोडसेडिङ हुने गरेको छ । लकडाउन समयमा पनि लोडसेडिङ गरेको भन्दै जिल्लाका विभिन्न सरोकारवालाले सामाजिक संञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।लकडाउनमा विद्युत खपत् कम हुने अवस्थामा समेत जिल्लामा बिनासूचना पटक÷पटक लोडसेटिङ हुन थालेपछि सर्वसाधारणले सामाजिक संञ्जालमा आपत्ती प्रकट गरेका हुन् ।
लोघेकर दामोदरकुण्डका कर्मचारी ज्याकी मुस्ताङीले चरम लोड सेटिङका कारण पालिकाको नियमित कामकाज असहज भएको जानकारी दिए । यस्तै लोघेकर ३ का वडाध्यक्ष सम्तेन धावा गुरुङले मुस्ताङको विद्युत सेवालाई कोरोना भाइरस लागेको भनी सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् ।
उनले लकडाउनमा घरमै बस्नु परेको तर, विद्युत नहुँदा श्रव्यदृष्य सूचना प्राप्त गर्ने अधिकार हनन् भएको बताए । यता, मुस्ताङको विद्युत वितरण केन्द्र निलगिरि उपभोक्ता सहकारी संस्थाले लोड सेटिङबारे कुनै जानकारी गराएको छैन । जिल्लामा विद्युत आपूर्ति समस्याको कारण बारे जानकारी नगराइएको र बिनासूचना पटक पटक लोडसेडिङ गर्नु विद्युत वितरणकेन्द्रको कमजोरी भएको सरोकारवालाले आरोप लगाएका छन् ।
मुस्ताङको घरपझोङ १ चोखोपानी २ सय ४० किलोवार्डको हाईड्रो र थासाङ१ को टुकुचेमा १३.६ मेगावार्डको हाइड्रो पावर सञ्चालनमा छ । थासाखोला हाइड्रोले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको र चोखोपानी हाइड्रोको विद्युत उत्पादन कम भएको विद्युत वितरणका कर्मचारी बताउँछन् । पर्वतको मिलनचोकबाट प्रशारण हुने विद्युत सेवामा प्राविधिक समस्या रहेको उनीहरुको भनाई छ ।
लकडाउनमा लोडसेडिङको पीडा भोग्नु परेको जोमसोमका स्थानीय भीषण थकालीले दुखेसो सुनाए ।