लकडाउनको मारमा किसान
ताप्लेजुङ : एक रोपनी खेतमा लगाएको काउली बिक्री गर्न नपाएपछि फुङलिङका होमनाथ गिरी चिन्तित छन्। लकडाउनका कारण हिउँदभरीको मिहेनत खेर जाने अवस्था आएको गिरीले सुनाए।
‘डोकोमा तीन घण्टा उकालो हिँडेर फुङलिङ बजार पुर्याउँदा पनि किन्ने मान्छे पाइदैन,’ उनले भने, ‘बजार पसल सबै बन्द छन्, बिक्री गर्ने ठाउँ नै छैन, सरकारले अन्तर पालिका आवत्जावत बन्द गरेपछि नजिकैको दोभान र हान्द्रुङ बजारमा समेत लैजान पाइँदैन।’ दोभान मेरिङ्देन र हान्द्रुङ मिक्वाखोला गाउँपालिकामा पर्ने साना बजार हुन्।
जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष नरेन्द्र मादेनका अनुसार ताप्लेजुङमा ३० क्विन्ल ब्रोइलर कुखुरा बजार पठाउन योग्य छन्। तर बजारमा खरिद गर्ने ग्राहक छैनन्। समयमा बिक्री नभए कुखुराले बढी दाना खान्छन्। तौल भने बढ्दैन। ‘बिक्रीका लागि योग्य कुखुरालाई अहिले दिनमा ९० हजार रुपैयाँ बराबरको दाना चाहिन्छ’, मादेनले भने, बजारमा दाना नै सकियो।’ दाना अभावमा कुखुरा फाल्ने अवस्थामा पुगेको कृषक बताउँछन्।
फुङलिङकै फावाखोला रेन्बो ट्राउट फार्म सञ्चालकको समस्या पनि उस्तै छ। तीन क्विन्टल माछाले बजार नपाएको सञ्चालक नविन डाँगीले सुनाए। ‘दानादेखि भुरासम्म काठमाडौंबाट ल्याउनुपर्छ। दाना सकियो। उत्पादन खरिद गर्ने ग्राहक छैनन्’, सोमबार फार्ममै भेटिएका नविनले गुनासो पोखे। ताप्लेजुङमा मात्रै खपत भइनसक्ने हुँदा ट्राउटको बजार पाँचथर, इलाम र झापासम्म थियो।
बन्दा, टमाटर, हरियो सागपातलगायत तरकारी, दूध उत्पादन गर्ने कृषकको पीडा पनि यो भन्दा फरक छैन। यता बजारमा फाट्टफुट्ट खुल्ने खुद्रा पसलमा भने तरकारीको मूल्य आकाशिएको छ। केही दिनअघि सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद खतिवडा नेतृत्वको टोलीले १० देख ५० प्रतिशतसम्म मूल्य वृद्घि भएको पाएको थियो। होलसेल मूल्य र ढुवानीसमेत बढेका कारण महँगो मूल्य पर्न गएको स्थानीय व्यापारीको भनाइ छ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन १६ दिनयता सरकारले लकडाउन गरेको छ। लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारी मजदुरको जस्तै कृषकको पनि जीविकामा प्रत्यक्ष असर परेको छ। सरकारले कृषकका लागि पनि राहत प्याकेज ल्याउनुपर्ने कृषकको माग छ। ज्यालादारी मजदुरका लागि स्थानीय तहले दैनिक उपभोग्य वस्तु प्रदान गर्ने योजना ल्याएका छन्।
‘हामी ऋण खोजेरै भए पनि गाउँमा केही गर्नुपर्छ भनेर लागेका कृषक हौं’, मेरिङ्देन गाउँपालिकाकी कृष्णमाया लिम्बूले भनिन्, ‘बजार नपाउँदा कृषिजन्य उत्पादन खेर जाने अवस्थामा पुगेको छ, हाम्रा लागि पनि केही सोचिदिनुपर्यो।’