ललितपुर महानगरमा नियम पालना गरेर मात्रै पसल खोल्न पाइने
ललितपुर : ललितपुर महानगरपालिकाले महानगरभित्रका ठूला स्टोर र साना पसललाई नियम पालना गरेर महानगरले तोकेको समयमा मात्रै खोल्न निर्देशन दिएको छ। ललितपुर महानगरले जारी गरेको विज्ञप्तिमा ठूला स्टोरहरु बिहान १० बजेदेखि र साँझ सात बजेसम्म खोल्न अनुमति दिएको उल्लेख छ। त्यसैगरी साना पसल र तरकारी तथा फलफूल पसलहरु बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खोल्न निर्देशन दिइएको जनाइएको छ।
उपप्रमुख गीता सत्यालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। नगरप्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा भएको बैठकमा आपूर्ति व्यवस्था र बजार व्यवस्थापनका बारेमा समेत छलफल गरिएको थियो।बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, ठूला खाद्य स्टोर, उद्योग वाणिज्य संघ ललितपुरका प्रतिनिधिहरुको सहभागिता थियो।
विज्ञप्तिमा उल्लेख भएअनुसार पसल अगाडी साबुन पानी र ह्याण्ड स्यानिटाइजरको व्यवस्था गनुपर्ने, विक्रेताले मास्क र सर्जिकल ग्लोभ्स अनिवार्य लगाउनु पर्ने, मास्क लगाएका ग्राहकलाई दूरी कायम गरेर लाइनमा बस्ने व्यवस्था मिलानुपर्ने नियम तोकिएको छ।
त्यसैगरी मूल्यसूची देखिने गरी राख्नुपर्ने, ग्राहकले सामान छुन र छनौट गर्न नपाउने व्यवस्था गर्नुपर्ने, ठूला स्टोरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु पर्ने जनाइएको छ।विज्ञप्तिमा बजार अनुगमन ललितपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा गरिने विज्ञप्तिमा भनिएको छ।