उदयपुरमा संक्रमित, सुनसरीमा कडाइ
इटहरी : सुनसरीमा शनिबारदेखि लकडाउन थप कडा बनाइएको छ। छिमेकी जिल्ला उदयपुरमा कोरोना संक्रमित फेला परेपछि कडाइ गरिएको हो। औषधि पसलबाहेक अन्य पसल बन्द गर्न भनिएको छ। गत रातिदेखि नै माइकिङ गरिएपछि सडक बजार सुनसान बनेको छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीबाहेकलाई हिँडडुल गर्न निषेध गरेको छ।
सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले अत्यावश्यक पर्दा नजिकको प्रहरीसँग समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जिल्लामा अहिलेसम्म कोही पनि कोरोनाका बिरामी नभेटिए पनि संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै कडाइ गरिएको जानकारी दिए। उनका अनुसार विभिन्न पालिकाले आफंैले नियम बनाएर पनि थप कडाइ गरिरहेका छन्।
सुनसरीमा अहिलेसम्म ४ सय ७२ जनाको ¥यापिड टेस्ट गरिएको छ। एक जनाको टेस्ट पोजेटिभ आएपछि धरानमा स्वाब टेस्टका लागि पठाइएको छ। बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ।
यस्तै, मस्जिदमा लुकिछिपी बस्नेको संख्या बढ्न सक्ने भन्दै प्रशासनले सुनसरीका मस्जिदलाई लक गरेको छ। त्यहाँ रहेका ५२ जना विदेशीलाई क्वारेन्टाइनमा राखिएको छ। यसरी राखिनेमा पाकिस्तानी र भारतीय छन्। उनीहरूमध्ये धेरैजसो लकडाउनको समय पारेर भारतबाट नेपाल आएको बताइएको छ।
यता, धरान उपमहानगरपालिकामा बसेको स्थानीयस्तरको सुरक्षा संयन्त्र बैठकले नगरबाहिरबाट दूध र तरकारी आयात गर्न निषेध गरेको छ। धरानभित्रैबाट आउने तरकारीलाई भने बिहान बिक्री-वितरण गर्न छुट दिइने उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिइन्।
उदयपुरबाट चतरा हुँदै धरान आउने नाका थप कडा बनाइएको छ। धरानको बीपी प्रतिष्ठानमा कोरोना भाइरसको पहिचान गरिन्छ भने त्यहाँ उपचार केन्द्र बनाउने तयारी भइरहेको छ।