अलपत्र दुई सय ५० यात्रुको उद्दार

अलपत्र दुई सय ५० यात्रुको उद्दार

परासी : देशका विभिन्न स्थानबाट पैदल आएका सर्वसाधारणलाई पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले यातायातको व्यवस्था गरेर घर पुर्‍याएको छ। काठमाडौं, हेटौंडालगायत पूर्वबाट पश्चिम जान राजमार्ग हुँदै आएका दुई सय ५० जना सर्वसाधारणलाई नगरपालिकाले शुक्रबार राति बसको व्यवस्था गरी पुर्‍याएर घर पठाइएको नगरप्रमुख भीमबहादुर थापाले बताए।

उनीहरु बाँके, कैलालीलगायतका जिल्लाका थिए। ‘सुनवल नगरपालिकामा प्रवेश गर्ने अलपत्र यात्रुलाई गन्तव्यमा पुर्‍याउन पहल सुरु गरेका छौं’, थापाले भने। प्रदेश ५ सरकारले प्रदेशमा प्रवेश गर्ने पैदल यात्रुलाई खान, बस्न र गन्तव्यमा पुर्‍याउन शुक्रबार दिउँसो आह्वान गरेलगत्तै स्थानीय तहले त्यसको व्यवस्था गर्न लागेका हुन्।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नाकामा प्रवेश गर्ने सर्वसाधारणलाई अलपत्र नपारी व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए। प्रदेश सरकारले पूर्वबाट आएका यात्रुलाई बर्दघाटमा व्यवस्था गर्न भनेको छ। ‘प्रदेश र स्थानीय तहको समन्वयमा सर्वसाधारणलाई अलपत्र नपारी गन्तव्यसम्म पुर्‍याउने भनिएको छ। उनीहरुको स्वास्थ्य परीक्षण गरी अल्पकालीन क्वारेन्टाइनमा राख्ने र होम क्वारेन्टाइनमा बस्न चाहनेलाई सोहीअनुरुप घर पुर्‍याउने व्यवस्था मिलाउन भनेका छौं’, केसीले भने।

प्रदेश सरकारको आह्वानपछि बर्दघाट नगरपालिकाले पैदल आएका यात्रुको खानाका लागि भूताहास्थित राजामहात्मा पूर्णभद्र मावि पञ्चनगरमा खाना र बस्ने व्यवस्था मिलाइएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्माले बताए। ‘हिजो केही यात्रुलाई खाना खुवायौं। घर पुर्‍याइदिन आग्रह गर्नेलाई बसको व्यवस्था गरेर पठाउन थालेका छौं’, नगर प्रमुख शर्माले भने। पूर्व हुँदै पश्चिम जान दैनिक ४ सयदेखि ५ सय सर्वसाधारण पश्चिम नवलपरासीको राजमार्ग भएर पैदल जाने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.