आइसोलेसनमा भर्ना भएकी युवतीसहित तीनै जना डिस्चार्ज
बैतडी : जिल्ला अस्पताल बैतडीमा आइसोलेसनमा भर्ना गरिएका तीनै जनालाई आइतबार डिस्चार्ज गरिएको छ । कोरोना आशंकामा वैशाख ३ गते अस्पतालमा भर्ना भएका बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ का एकै परिवारका उनीहरुलाई डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए।
कोरोनाको शंकामा आइसोलेसनमा भर्ना गरिएकी एक २३ बर्षीय युवतीको थ्रोट स्वाबको नमूना नेगेटिभ आएकाले डिस्चार्ज गरिएको उनले बताए । युवतीसँगै आइसोलेसनमा राखिएका युवतीका बुवा र भाइको आरडीटी परीक्षण नेगेटिभ आएकाले उनीहरुलाई पनि डिस्चार्ज गरिएको हो । युवतीका बुवा र भाइमा त्यस्तो कुनै लक्षण नदेखिएकाले आरडीटी मात्रै गरिएको चिकित्सकले जनाएका छन्।
युवतीको सेती प्रादेशिक अस्पताल धनगढीमा थ्रोट स्वाबको नमूना परीक्षण गरिएको थियो । उनको यसअघि बैतडीमै गरिउकोर्यापिड डाइग्नोस्टिक टेस्ट रिपोट पनि नेगेटिभ आएको थियो । युवतीमा ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
यसअघि कोरोना आशंकामा गत चैतमा ३ जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको भएपनि तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो।