लोमान्थाङमा पहिलो पटक सामुहिक स्याउ खेती
जोमसोम : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र १० गतेदेखि मुलुकभर लकडाउन गरेको छ । लकडनउनले देश ठप्प भए पनि उपल्लो मुस्ताङका किसान यतिबेला खेतीपातीको कामकाजमा जुटेका छन् ।
वर्षभरिको खेतीपातीले ६ महिना नथेग्ने उपल्लो मुस्ताङका किसानहरु हिउँदयामको जाडो छलेर घर फर्किएलगत्तै खेतीपातीको काममा लागेका हुन् । कतिपय उपल्लो मुस्ताङी घर फर्किन ढिलो हुदाँ लक डाउनले पोखरामा अलपत्र छन् । बर्खायाममा खेतीपाती र हिउँदयाममा घुमन्ते व्यापार व्यवसाय गर्ने उपल्लो मुस्ताङीको पुख्यौली चलन मानिन्छ ।
हिउँदयाममा बेशी झरेका कतिपय मुस्ताङी लक डाउन अघि नै गाउँ फर्किसकेकाले उनीहरु अहिले खेतबारी खनजोत गर्ने र गहुँ, मकै, उवा, तोरी, आलु, फापर र केराउका बिउहरु छर्ने काममा व्यस्त भएको लोमान्थाङ –५ का युवा टसी आङ्ग्या गुरुङले जानकारी दिए । उपल्लो मुस्ताङका किसानले सामाजिक दुरी कायम गरी खेतपाती गर्न थालेको उनले उल्लेख गरे ।
यतिबेला उपल्लो मुस्ताङको लोमान्थाङ–५ को धुराङमा पहिलो पटक धमाधम स्याउका बेर्ना लगाइँदै छ । गण्डकी प्रदेश सांसद ईन्द्रधारा बिष्टको पहलमा लोमान्थाङको धुराङमा पहिलो पटक सामुहिक स्याउ खेती परियोजना सुरु भएको हो । धुराङ लोमान्थाङको पुरानो बस्ती पनि हो । पछिल्लो समय धुराङमा स्थानीय बसोबास गर्न छाडेपछि लामो समयदेखि त्यहाको खेतीबारी बाँझो रहँदै आएको थियो । अहिले त्यही बाँझो जमिन उपयोग गर्दै स्थानीय ७० घरधुरीले स्याउ खेती थालेको सांसद बिष्टले जानकारी दिए ।
७० घरधुरीले सुरु गर्न लागेको स्याउ बेर्ना लगाउने अभियानमा स्थानीयले लक डाउनको सदुपयोग गरिरहेका छन् । बाँझो जग्गा सम्याउने, मलजल गर्ने र बेर्ना लगाउने लगायतको काम गरेको परियोजनाका सचिव लाक्पा वाङ्दी गुरुङले बताए ।
समून्द्री सतहदेखि करिव ४२ सय मिटर उचाइको लोमान्थाङमा पहिलो पटक सामुहिक खेती सुरु गरिएको हो । झन्डै २० हजार स्थानीय जातका स्याउ बेर्ना लगाइ वातावरण चुस्त राख्ने तथा स्थानीयको आयआर्जनको श्रोत वृद्धि गर्ने उद्देश्य छ । यसका लागि गण्डकी प्रदेशले आर्थिक वर्ष २०७५/७६ देखि मुख्यमन्त्री वातावरण कृषि नमूना गाउँ परियोजना सुरु गरेको जनाइएको छ। परियोजनाले गत वर्ष ३० लाख बजेट बिनियोजन गरेको र तटबन्धको तारजालीमा १५ लाख बजेट विनियोजन गरेको सांसद बिष्टले जानकारी दिए । उक्त बजेटले बाँझो जग्गा सम्याउने, जमिन खार्ने र तटबन्ध लगाउने काम भएको सांसद बिष्टले उल्लेख गरे ।
उक्त स्थानको धुराङमा २ हजार मिटर तारजाली लगाउने पर्नेमा ८ सय मिटर मात्र लगाइएको छ । यस वर्ष गण्डकी प्रदेशको परियोजनाबाट २५ लाख बजेट विनियोजन भएको छ । यस्तै ,सांसद विकास कोषको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्याउ बेर्ना खरिद, खाँल्डो खन्ने, स्याउ लगाउने लगायतका काममा १५ लाख बजेट विनियोजन भएको छ ।
परियोजनामार्फत चालु वर्षको पहिलो चरणमा ४ हजार बेर्ना लगाउने उद्देश्य रहेको छ । सामुदायिक स्याउ खेतीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप र जिल्ला स्याउ जोनले अनुदानमा स्याउका बेर्ना उपलब्ध गराएका छन् । परियोजनाको बजेटले सिचाईको सहज व्यवस्थासमेत गरिएको जनाइएको छ ।