बारीमै कुहिँदै तरकारी र फलफूल
झापा : लकडाउनका कारण किसानले फलाएका मौसमी तरकारी र फलफूल बजारसम्म पुर्याउन नपाउँदा बारीमै खेर जाने भएका छन्। खरबुजा, काँक्रा, गोलभेडा लगायतका तरकारी बजार पुग्न पाएको छैन।
स्थानीय रमश्याम कामतीले मेची खोलाको बगरमा २ बिघा जग्गामा लगाएको खरबुजा लकडाउनका कारण खोलाको बगरमै खेर जाने अवस्थामा पुगेको छ अढाई लाख लगानी भएको उक्त खेतीबाट अन्य अवस्थामा लगानीको दोब्बर आम्दानी हुन्थ्यो। फुाट्टफुट्ट खुला बिक्री भइरहेको छ, तर अभैm पनि सरकारले सहजै बिक्री गर्ने व्यवस्था मिलाइदिए हाम्रो उत्पादनले मूल्य पाउने थियो’, उनले भने।
खरबुजा लिन आउने सवारीको ताँती लाथ्यो। कामती भन्छन्, ‘बगरमै कुहाउनुभन्दा घाटा खाएरै ढुवानी गरी दमकसम्म पुर्याएको छु’। ढुवानी खर्च गर्नै नसक्ने किसानको भने बारीमै नाश हुने अवस्था छ।
नगरभित्र ठेलामा बिक्री गर्न लगेको पैसा लाग्दैन। तर भद्रपुरबाट अन्य स्थानमा पुर्याउन वडा कार्यालयलाई ५ सय रुपैयाँ तिरेर पास बनाएपछि सकिन्छ। तर त्यहाँसम्म पुर्याउने ढुवानी खर्च र बिक्री नहोला भन्ने सन्त्रासले गर्दा बिर्तामोडसम्म पनि किसानले पुर्याउन सकेका छैनन्। किसान धर्मराज जैशवालका अनुसार ६ महिना उत्पादन हुन समय लाग्छ। अरु बेला काठमाडांैबाटै व्यापारी बगरमा लिन आउँथे। ‘लहानदेखि माग आएको छ। तर कसरी पुर्याउने ? झापाकै अन्य बजारमा पुर्याउँदा पनि बोर्डरबाट ल्याएको रैछ भनेर ग्राहकले किन्न मान्दैनन्’, उनले भने।
मेची बगर अहिले खरबुजा र काँक्राको लटरम्मले भरिएको छ तर बिक्री छैन। स्थानीयले नगरपालिकालाई पनि बिक्री गर्न सहज वातावरणका लागि आग्रह गरेका छन्। बगरभर करिब ५० बिघा क्षेत्रफलमा १५ नेपालीले खेती गरेका छन्। अर्कोतिर झापाको भद्रपुर नगरपालिका ९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपंक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर गतसाता पाकेर बारीमै खेर गए। फार्मका सञ्चालक मनोज सिंह भन्छन्, ‘अरु समयमा भुईंकटहर काठमाडौंको कालीमाटी तरकारी बजारमा पुर्याएर बिक्री हुन्थ्यो। अहिले अधिकांश खेर जाने अवस्थामा छ।’
ऋण तिर्ने उनको योजना पनि चकनाचुर भएको छ। भुइँकटहर करिब ८० हजार बोट फलेका छन् भने ३० हजार खेर गएका छन्। बाँकी ५० हजार जति बोट जेठ असारमा पाक्ने तयारीमा छन्। उनले २३ लाख लगानी गरेको बताए। मनोज भन्छन्, ‘यसको क्षतिपूर्ति कि सरकारले व्यहोर्नु पर्यो होइन भने सहज ढुवानीको व्यवस्था गर्न दिनुपर्यो।
झापाकै शिवसताक्षी नगरपालिकामा किसानले प्रतिबिघा १० हजार रुपैयाँका दरले जमिनको भाडा तिर्दै खेती गर्दै आएका छन्। करिब २ सय बिघा जमिनमा किसानले लगाएका काँक्रा र खरबुजा लकडाउनका कारण बारीमै कुहिन थालेपछि उनीहरु चिन्तित बनेका छन्। जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार बिर्तामोड, दमक र इटहरी हो। मेचीनगर नगरका किसान राजकुमार राईले २ बिघा जमिनमा लगाएको गोलभेडा बारीमै कुहिएका छन्। डेढ लाख लगानीमा लगाइएको उक्त गोलभेडाबाट सामान्य अवस्थामा ३ लाख आम्दानी हुन्थ्यो।