कुखुरापालनबाट करोडौं घाटा
हेटौंडा : हेटौंडा ७ का सरगम थपलियालाई कुखुरा फार्ममा दैनिक नगई चित्त बुझ्दैन। तर रित्तो खोर हेरेर उनी भारी मन लिएर फर्कन्छन्। ३ हजार लेयर्स कुखुराले अण्डा दिन थालेपछि थपलियाले बैंकको ऋण तिर्ने, अहिलेसम्मको लगानी उठ्ने र यो वर्ष केही पैसा बचत गर्ने सपना देखेका थिए। तर कारोना भाइरस संक्रमण त्रासका कारण सरकारले लकडाउन गरेपछि उनले अण्डा बिक्री गर्न सकेनन्। दानाको समेत जोह गर्न नसक्दा कुखुरा मर्न थालेपछि उनले भएका सबै कुखुरा एक सय रुपैयाँ गोटामा बिक्री गरेर खोर खाली गरे।
'मलाई करिब १८ लाख रुपैयाँ घाटा लागेको छ। केही पैसा हुन्छ की भनेर पालेका कुखुराले थप ऋण बोकाएर गयो', थपलियाले भने, 'कुखुरा बचाउन र अण्डा बिक्री गर्न नै नसक्ने भएपछि कुखुरा पाल्न सकिएन कौडीको भाउमा सबै कुखुरा बिक्री गर्नुपर्यो।'
उनका छिमेकी दिनेश अधिकारीले भने लेयर्स कुखुरा पालिरहेका छन्। तर उनलाई पनि कुखुरा बचाउनै समस्या छ। 'अण्डा बिक्री छैन, भएपनि लगानीको आधा मूल्यमा बेच्नुपरेको छ', २ हजार लेयर्स पालेका उनले भने, 'दाना ल्याउन पनि समस्या, त्यहीमाथि उधारो पनि दिँदैन, नगद पैसा छैन। अण्डा बेचेर पैसा कमाउनुभन्दा पनि कुखुरा बचाउनै नसक्ने अवस्थामा पुगेको छु।'
कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरी सञ्चालन गर्दै आएका सुनिल अधिकारीले पनि उत्पादन भएका सबै चल्ला नष्ट गरेका छन्। दुई हप्ताको बीचमा ६० लाख रुपैयाँभन्दा बढी नोक्सान व्यहोरिसकेको उनको भनाइ छ। 'जिल्लामा मेरोसहित ३ वटा ह्याचरी छन्। हप्तामा ८० हजार चल्ला उत्पादन हुन्छ', उनले भने, 'हामीलाई एउटा चल्ला उत्पादन गर्दा ३५ रुपैयाँ पर्छ तर सबै चल्ला नष्ट गर्नुपरेको छ।'
थपलिया र दुई अधिकारी जस्तै जिल्लामा रहेका एक हजार पाँच सय कुखुरापालक नोक्सान व्यहोर्न बाध्य छन्। लकडाउनका कारण दैनिक एक करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ।
जिल्लाभित्र कुखुरा व्यवसायमा पाँच अर्ब रुपैयाँ लगानी रहेकोमा करिब एक अर्ब नोक्सानी भइसकेको संघका अध्यक्ष राजु अधिकारीको भनाइ छ। 'जिल्लाभर १४ लाख कुखुुरा थियो, हामीले ६ लाख कुखुरा एकसय रुपैयाँ गोटामा बिक्री गर्न बाध्य भयौं', उनले भने, 'बाँकी रहेको कुखुरा पनि दैनिक लाखौं घाटा व्यहोरेर पालिरहेका छौं।'
प्रतिक्रेट अण्डामा तीनसय रुपैयाँ लगानी पर्ने गरेकामा एक सय ५० रुपैयाँमा बिक्री भइरहेको अध्यक्ष अधिकारीले बताए। साथै प्रतिकेजी एक सय ८० रुपैयाँ ब्रोइलर कुखुरामा लगानी पर्ने भए पनि एक सय ३० रुपैयाँसम्म बिक्री गर्न बाध्य भएको उनको भनाइ छ। अब पनि लकडाउनको समय थप भए जिल्लामा कुखुरा व्यवसाय उठ्नै नसक्ने गरी थलापर्ने अध्यक्ष अधिकारीले बताए। 'अब हामी मर्ने र बाच्ने संघारमा छौं, लकडाउन अझै थपिने अवस्था आयो भने राज्यको सहयोग बिना अब कुखुरा व्यवसाय अघि बढ्न सक्दैन', उनले भने, 'जिरोमा जान लागेको कुखुरा व्यवसायलाई राज्यले केही राहत प्याकेज दिएर भएपनि बचाउनसक्नुपर्छ।'
संघको तथ्यांकअनुसार १४ महिना अघि पनि बर्डफ्लु र अन्य संक्रमणका कारण एक लाख कुखुरा नष्ट गरिएको थियो। थप दुई लाख कुखुरा आफै मरेको थियो।