संक्रमितको सम्पर्कमा आएका ३२८ निगरानीमा
चितवन : चितवनमा फेला परेका कोरोना संक्रमितको सम्पर्कमा आउनेको खोजी थालिएको छ। बेलायतबाट फर्किएपछि उनीहरुले भेटघाट गर्ने र सामान्य बोलचाल गर्ने ३ सय २८ जना पुगेका छन्।
संक्रमितसँगको सम्पर्कमा आएकाको सूची तयार गरिएको छ। आफन्त र छरछिमेक गरी नजिक भएका ४२ जना छन्। वडा सदस्य बाबुराम घर्तीले परिवारसँगको सोधपुछको क्रममा उक्त संख्यामा सम्पर्कमा आएको बताए। '४२ जना भन्दाबढी आवतजावत गर्ने, घरभित्र पस्ने, चकलेट खाने छन्', घर्तीले भने, 'बाँकी रहेका टोलवासी हुन्।' घर्ती वडासदस्य पनि हुन्। सूचीमा परेका करिब सातजना नजिकै पर्ने खैरहनी नगरपालिकाकासमेत छन्।
जोखिममा रहेकालाई सुरक्षित रहन भनिएको छ। प्रारम्भिक सोधपुछबाट यति संख्या देखिए पनि यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ। उनीहरुलाई क्वारेन्टाइनमा राखिने छ। सोही वडामा रहेको ब्रम्हनगर माविमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ। वडाध्यक्ष बुद्धिराज थपलियाको नेतृत्वमा क्यारेन्टाइन व्यवस्थापन समिति गठन गरेर तयारी गरिएको हो।
शनिवार दिनभर उनीहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीको नेतृत्वमा टोली खटिएको थियो। तिवारीका अनुसार आवश्यकता अनुसार आरडिटी र पीसीआरबाट परीक्षण गरिने छ। उक्त वडालाई आवतजावतमा रोक लगाउँदै शिल गरिएको नगर प्रमुख प्रभा बरालले बताइन्।
राप्ती नगरपालिका ८ स्थित ब्रम्हनगरका दुई जनामा कोरोना संक्रमण भएको हो। ६३ वर्षीया आमा र उनका २७ वर्षीय छोरामा कोरोना देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट संक्रमण पुष्टि भएको हो। कोरोनाको पुष्टि भएपछि गाउँ नै त्रसित बनेको छ। चैत ३ गते बेलायतबाट कतार एयरवेजमार्फत आएका उनीहरु दुई दिन काठमाडौंमा बसेका थिए।
संक्रमितलाई भरतपुर अस्पतालको आईसोलेसन वार्डमा राखिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपेरीटेण्डेन्ट डा. श्रीराम तिवारीले भने, 'उनीहरुको अवस्था अहिले सामान्य छ उच्च प्राथमिकतामा उपचार र निगरानी गरेका छौं।'