लकडाउनले सुनसान शान्ति भूमि लुम्बिनी (फोटो फिचर)
भैरहवा : शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको मुहान मानिन्छ । पर्यटकको चहलपहल हुने लुम्बिनी अहिले सुनसान बनेको छ । द्वन्द्वकाल होस् वा अन्य कुनै आन्दोलन लुम्बिनीसम्म पर्यटकको आगमनमा कहिल्यै ब्रेक लागेन । कोरोना भाइरस संक्रमण रोक्न देशमा लकडाउन लगाएपछि इतिहासमै लुम्बिनी पहिलो पटक सुनसान भएको छ ।
कोइली चराको कुहुँ कुहुँ मधुर स्वर, अन्य चराहरुको चिरबिर, हावाको सुइयययय ‘सिरसिर’ बाहेक केही पनि सुनिँदैन लुम्बिनीको उद्यान क्षेत्रमा । जता हेर्यो त्यतै शान्त छ लुम्बिनी । हावाटाका छेउमा फूलहरु ढकमक्क फुलेका छन् । केन्द्रीय नहरमा चल्ने डुंगा रोकिएका छन् । मुख्य मायादेवी मन्दिर, पवित्र पुष्करणी कुन्ड, विश्व शान्ति द्वीप, त्यहाँ रहेका विभिन्न गुम्बा, विहारहरु पनि बन्द छन् । यहाँ अहिले एकजना पर्यटक पनि छैनन् । होटल, पसल सबैमा ताल्चा लागेको छ । लुम्बिनी सुनसान छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नागरिकलाई जोगाउन लकडाउन गरिएको छ । लकडाउनका कारण शान्ति स्थल दिव्य भूमि लुम्बिनीमा अझै शान्ति थपिएको छ । न कुनै कोलाहल । न कुनै प्रदुषण । मात्र चराहरुको चिरबिर र हावाको ‘सिरसिर’ आवाज ।
त्यहाँ देखिने चराहरु, फुलेका फूलहरु मानिसको अनुपस्थितिले अचम्मित भएका होलान् ।