मुस्ताङ कोरोनामुक्त जिल्ला घोषणा हुँदै
जोमसोम : हिमाली जिल्ला मुस्ताङलाई कोरोना मुक्त 'ग्रीन जोन' घोषणा गर्ने तैयारी थालिएको छ। जिल्ला कमाण्ड पोष्ट मुस्ताङले हालसम्म जिल्ला भित्रका ५ वटै स्थानीय तहमा कोरोना संक्रमित कोही व्यक्ति नभेटिएको र यसबारे केही दिनभित्रै संकास्पद व्यक्तिको र्यापिड परीक्षण गरी अन्तिम टुंगो लगाइने जनाइएको छ।
सबै प्रक्रिया पूरा गरी कोरोना मुक्त 'ग्रीन जोन' जिल्ला घोषणा गर्न प्रादेशिक सरकारलाई अनुरोध गर्ने तैयारी भइरहेको कमाण्ड पोष्टले बताएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक वेदप्रकास अर्यालले कोरोना मुक्त ग्रीन जोन घोषणा गर्नका लागि प्रदेश सरकारसँग प्रारम्भिक चरणको मौखिक कुराकानी भएको जानकारी दिए । उनले ग्रीन जोन घोषणाका लागि एकसाता भित्रै प्रदेश सरकारलाई सिफारिस गर्ने जनाए ।
मुस्ताङमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लक डाउनको २९ औं दिन पूरा भएको छ । कोरोना नियन्त्रणका लागि जिल्लाले उच्चसर्तकता अपनाएको र हालसम्ममा कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको कमाण्ड पोष्टका संयोकज प्रजिअ अर्यालले बताए।
उनका अनुसार जिल्लाका ५ वटै स्थानीय तहबाट कोरोना संम्भावित सक्रमित व्यक्ति छन् भन्ने जानकारी नआएको ,विदेशबाट आएका ३ वटा गाउँपालिकाका केही व्यक्तिको द्रूत र्यापिड परीक्षण भइरहेको र स्थानीय स्तरमा ज्यालादारी काम गर्ने मजदुरमा समेत कोरोना भाइरसको समस्या नदेखिएकाले ग्रीनजोन घोषणा गरी जिल्लालाई खुकुलो पार्ने योजना रहेको छ।
प्रजिअ अर्यालले २÷४ दिनभित्रै कोरोना परीक्षण र्यापिड टेष्ट गर्ने काम सम्पन्न हुने र यसका आधारमा म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घासालाई पूर्ण रुपमा नियन्त्रणमा लिइ जिल्लाभित्र लकडाउनको अन्त्य गरिने उल्लेख गरे । ग्रीन जोन घोषणा गरेपछि म्याग्दी र मुस्ताङको नाकामा थप कडाई हुने जनाइएको छ।
उत्तरी कोरलानाकामा खासै समस्या नरहेको र म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने खाद्यान्नलगायतका अतिआवश्यकीय सेवाका सवारी साधनलाई अनिवार्य डिसइन्फेक्सन गराइने तैयारी भइरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।
म्याग्दीहुँदै मुस्ताङ आउने अतिआवश्यकीय सेवाका सवारी चालकलाई अनिवार्य र्यापिट डाइगोनोष्टिक परीक्षण गराएर मात्र सोका आधारमा प्रवेश दिइने व्यवस्था गरिने कमाण्ड पोस्टले योजना बनाएको छ । ग्रीन जोन घोषणापछि जिल्ला भित्रको सवारी तथा सर्वसाधारणको आउजाउ सहज पार्ने जनाइएको छ ।