किन समात्यो प्रहरीले ज्ञानेन्द्र शाहीलाई ?
ललितपुर : 'हामी नेपाली हाम्रो नेपाल' अभियानका संयोजक ज्ञानेन्द्र शाहीविरुद्ध संक्रमण रोग नियन्त्रण ऎन २०२० अनुसार मुद्दा दर्ता भएको छ। प्रहरीले यसैमा केन्द्रीत भएर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनलाई मंगलबार राति पक्राउ गरिएको हो। राहत बाड्ने कुरामा समन्वय गर्न खोज्दा प्रशासनविरुद्ध गएपछि पक्राउ गर्न बाध्य भएको एसएसपी राईले बताए।
प्रहरीका अनुसार शाही स्थानीय तह तथा जनप्रतिनिधि कसैसँग समन्वय नगरी राहत बाड्ने भन्दै हिडेका थिए। सरकारले राहत बाडनु भन्दा पहिला स्थानीय तहमा सम्पर्क गर्नुपर्ने नीति तथ गरेको छ। वडामा सम्पर्क गरेर मात्र राहत बाड्न आग्रह गर्दा शाहीले फेसबुक लाइभ गरी प्रशासनविरुद्ध अभिव्यक्ति दिएका थिए।
त्यसपछि पनि जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख तथा प्रहरीलाई निरन्तर धम्कीपुर्ण फोन, अश्लील म्यासेज आएपछि बाध्य भएर शाहीलाई नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।'मार्छु, काट्छु भन्दै धम्की आए, प्रायजसो बिदेशबाट आएका छन्' राइले भने 'मेसेजमा परिवार, छोराछोरी सकाइदिन्छु भनेका छन् ।'
फोन तथा म्यासेज आएका नम्बरको निगरानी सुरु गरेको प्रहरीले जनाएको छ । इन्टरपोल र साइबर ब्यूरोको सहयोगमा अनुसन्धान भइरहेको र त्यस्ता व्यक्तिलाई जुनसुकै बेला नियन्त्रणमा लिन सकिने राइले बताए।
प्रहरीले समन्वय गर्न खोज्दा उल्टै प्रशासनलाई चुनौती दिन थालेकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। फोन तथा म्यासेज गर्नेहरु शाहीबाट परिचालन भएका हुन् या अरु नै हुन भन्ने विषयमा पनि प्रहरीले हेरिरहेको छ। राहत बाड्नु भन्दा पहिला कुन ठाउँमा कति बाड्ने ? स्थानीय तहमा जानकारी हुनुपर्ने कार्यविधिमा उल्लेख्य भएको प्रहरीले जनाएको छ।