कोरोना कहर : लकडाउनले सुनसान मुक्तिनाथ
जोमसोम : हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिर लक डाउनले सुनसान छ । लक डाउनको २ दिनअघि बन्द भएको मुक्तिनाथ मन्दिरको दर्शन तथा पूजाआजाको कामकाज पूर्ण रुपमा बन्द भएको हो ।
मुक्तिनाथ मन्दिर बन्द भएको ३१ औं दिन पूरा भएको छ । विश्व व्यापी संकटका रुपमा देखा परेको कोरोना भाइरस ( कोभिड-१९ ) रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुक लकडाउन गरेसँगै मुक्तिनाथ मन्दिर तिर्थालुबिहीन भएको हो । हिउँदयाम बाहेक बर्खायाममा पर्यटक तथा तिर्थालुले भरीभराउ हुने मुक्तिक्षेत्रको मुलद्वारमा ताल्चा लगाइएको छ ।
मन्दिरका पूजारी र चन्दा संकलन गर्ने कर्मचारी समेत घर फर्किएका छन् भने मन्दिरको रेखदेख गर्न केही आनीझुमा खटिएका छन् ।
बर्खायामको सुरुआतसँगै मुक्तिनाथ मन्दिरमा दिनहुँ सयौंको संख्यामा आन्तरिक तथा बाह्य तिर्थालुको ओइरो लाग्थ्यो । लामो समयको लक डाउनले मुक्तिनाथको दर्शन तथा पूजाआजाका गतिविधि नराम्ररी प्रभावित भएको छ । मुक्तिनाथ गुरुयोजनाको कामकाज समेत लक डाउनले स्थगित जनाइएको छ ।
पर्यटक पर्खाईमा बसेका मुक्तिनाथका पर्यटन व्यवसायी मुक्तिनाथमै बसेपनि होटल पूर्ण रुपमा खोलेका छैनन् । यस्तै राउन्ड अन्नपूर्ण पदमार्ग समेत लकडाउनले बन्द ठप्पै छ ।
मुक्तिनाथमा स्थानीयबासी र केही कर्मचारी बाहेक नयाँ अनुहार देखा नपरेको पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए । यस्तै ,रानीपौवा बजार देखि मुक्तिनाथ गेटसम्म घोडामामार्फत तिर्थालुलाई ओसार पोसार गर्ने स्थानीयको आम्दानी गर्ने बाटो रोकिएको छ । मुक्तिनाथ रानीपौवाको फुटपाथमा व्यापार व्यवसाय गर्ने साना समथिङ व्यापारी पनि घरमै बसेका छन् । सयौ सवारी साधन पार्किङ गर्ने बसपार्क पनि सुनसान छ ।
यस्तै , बर्सेनि हिउँदयामको जाडो महिनामा भारतका विभिन्न स्थानमा बस्ने भारतिय जोगीहरु र गर्मीयाम लागेपछि मुक्तिनाथमा फर्कन्छन् । मुक्तिनाथको मुख्य प्रवेशद्धार नजिक तिर्थालुसँग मागेर दैनिक गुजारा चलाउँदै आएका करिब एक दर्जन जोगीहरु लक डाउनपछि समस्यामा परेका हुन् । लामो समय देखि मुक्तिनाथमा बस्दै आएका जोगीमध्ये केही भारत फर्किएका छन् भने मुक्तिनाथमै बस्ने जोगीहरु ७ जना छन् ।
मुक्तिनाथको रानीपौवा धर्मशालामा ६ पुरुष र एक महिला जोगीले आश्रय लिएर बसेका छन् । लक डाउनले तिर्थालु नआएपछि उनीहरुको मागेर कमाई गर्ने कामकाज बन्द भएको हो । वारागुङ मुक्तिक्षेत्र गाउपालिकाले समस्यामा परेका मुक्तिनाथमा बस्ने ७ जना जोगीलाई खाद्यान्न लगायतको राहत सामाग्री बितरण गरेको वारागुङ मुक्तिक्षेत्रका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए । पालिकाले ५ सय ४० जनालाई राहत वितरण गर्ने क्रममा मुक्तिनाथका जोगीलाई राहत उपलब्ध गराईएको सूचना अधिकारी तिमिल्सिनाले बताए।
उनका अनुसार पालिकाले ७ जना जोगीलाई क्रमशः चामल ,दाल ,चना,तेल,नुन ,चिउरा र चाउचाउ आदी वितरण गरेको हो । उनीहरुलाई आवश्यकता अनुसार राहत उपलब्ध गराउने गाउँपालिकाको योजना रहेको सूचना अधिकारी तिमिल्सिनाले बताए ।