कोरोनाले रोक्यो ढोरपाटन शिकार

कोरोनाले रोक्यो ढोरपाटन शिकार

बागलुङ : नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनमा फागुनदेखि बैशाख सम्मको अवधि शिकार सिजन हो । तर, अहिले विश्वव्यापी कोरोना भाइरसका कारण उत्पन्न समस्या र संकटले ढोरपाटनमा साहसिक शिकार खेल्ने कार्य अनुमतिमै सिमित भएको छ।  

आरक्षले यो सिजन (फागुन- वैशाख) का लागि खुल्ला बोलपत्र आव्हानमार्फत १० नाउर र ५ झारलको शिकारका लागि अनुमति दिएको थियो । शिकार अनुमति पाएकाले १५ दिनको अवधिमा आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा एक भाले नाउर वा एक झारलको मात्र शिकार गर्न पाउने व्यवस्था छ ।

विश्व समुदाय कोरोना महामारीबाट ग्रसित भएको र नेपालमा चैत्र ११ देखि निरन्तर लकडाउन भएका कारण शिकार अनुमति पाएका विभिन्न देशका ६ शिकारीले शिकार खेल्न नपाएको ढोरपाटन शिकार आरक्षको कार्यालय बागलुङका सूचना अधिकारी रमेश यादवले बताए ।

उनीहरुले शिकार एजेन्सीमार्फत १० नाउर र ५ झारलको शिकारका लागि टेण्डरमार्फत अनुमति पाएर कुल राजश्वको तीन प्रतिशत धरौटी रकम समेत बुझाइसकेका थिए । तर, कोरोनाले नेपालसहित सबै देशमा भयावह अवस्था रहेकाले दोस्रो याममा कुनै पनि नाउर र झारलको शिकार नभएको यादवले जानकारी दिए। 

आरक्षले दुई सिजनमा शिकार अनुमति दिने गर्दछ। पहिलो असोजदेखि मंसिरसम्म र दोस्रो फागुनदेखि बैशाखसम्म शिकार अनुमति दिने गरेको छ । शिकारका लागि विभिन्न देशका शौखिन व्यक्ति हेलिकोप्टर चार्टर गरेरै आरक्ष पुग्ने गर्दछन् । आरक्षको निश्चित भू-भागसम्म हेलीमा पुगे पनि शिकारका लागि पैदल हिँडेरै शिकार गर्नुपर्ने नियम छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र आव्हानमा ६ शिकार कम्पनीले शिकार अनुमति पाए पनि कोरोनाका कारण शिकारी नआएपछि अब के गर्ने भन्नेमा द्विविधा पैदा भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले बताए ।

'अहिले कोरोनाले सबै देशमा आतंक र भयावह अवस्था छ,यो बेलामा शिकारका लागि आउने कुनै सम्भावना नै रहेन, श्रेष्ठले भने, 'अब शिकार अनुमति पाएकालाई आगामी आर्थिक वर्ष २०७७/०७८ को पहिलो सिजनमै शिकार खेल्न दिने की धरौटी फिर्ता गर्ने भन्ने विषयमा हामी छलफलमै रहेका छौं।'
 
विभागका अनुसार अघिल्ला वर्ष र सिजनको शिकारको तुलनामा विश्वभर कोरोना फैलिन थालेका कारण बोलपत्र आह्वान गर्दा कम राजश्वमा कम्पनीले शिकार अनुमति प्राप्त गरेका थिए । यसअघिसम्म एक नाउर र झारललाई बढीमा १२ लाख रुपैयाँ राजस्व बुझाएका कम्पनीले यस याममा एक नाउर र झारलको बढीमा करिब एक लाख ७५ हजार रुपैयाँमै शिकार अनुमति पाएका थिए। 

विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका विकसित मुलुकका शिकारी आउने गर्दछन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको आरक्ष कार्यालयले जनाएको छ।सरकारले विसं २०४२ सालमा शिकार आरक्ष स्थापना गरेपछि बर्षेनि शिकारका लागि अनुमति प्रदान गरिँदै आइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.