भारतीय क्वारेन्टाइनमा किरिया बसेका तीन भाईलाई स्वदेश फर्काइयो
बैतडी : आफ्नो बुवाको मृत्यु भएपछि भारतीय क्वारेन्टाइनमै किरिया बसेका तीन जना नेपाली मजदुरहरुलाई बुधबार स्वदेश फर्काइएको छ। चार दिन अघि बुवाको मृत्यु भएपछि भारतीय क्वारेन्टाइनमै किरिया बसेका पुर्चौंडी नगरपालिका-३ का तीन जनालाई स्वदेश फर्काइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार अमरसिंह धामी, प्रेमसिंह धामी र रामसिंह धामीलाई भारतीय प्रशासन र जिल्ला प्रशासनको संयुक्त पहलमा बुधबार साँझ उनीहरुलाई स्वदेश ल्याइएको हो। भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदुर लकाडाउनका कारण घर आउन पाएका थिएनन्। भारतीय क्वारेन्टाइनमै बसिरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको र बुधबार मात्रै स्वदेश फर्कन पाएको अमरसिंह धामीले बताए।
स्वदेश फकाईएका तीनै जनाको जिल्ला अस्पतालमा र्यापिड टेस्ट गरिने र रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई घर पठाइने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। अमरसिंह,प्रेमसिंह र रामसिंह धामीका बुवा ८३ वर्षीय उजले धामीको वैशाख ७ गते निधन भएको थियो।