किरियापुत्रीको कोरोना रिपोट नेगेटिभ
बैतडी : चार दिनपछि नेपाल फर्काइएका तीन जना किरियापुत्रीको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ। पुर्चौंडी नगरपालिका ३ का अमरसिंह धामी, प्रेमसिंह धामी र रामसिंह धामीको र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।
जिल्ला अस्पताल बैतडीमा बुधवार बेलुका आरडिटी परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
वैशाख ७ गते बुवा उजले धामीको निधन भएपछि तिनै जना भारतीय क्वारेन्टाइनमै किरियामा बसेका थिए । ४ दिनदेखि भारतीय क्वारेन्टाइनमै किरिया गरिरहेका उनीहरुलाई बुधवार बेलुका जिल्ला प्रशासन कार्यालय बैतडीको पहलमा स्वदेश ल्याइएको हो । उनीहरु तीनै जनालाई झुलाघाट नाकाबाट स्वदेश फर्काइएको हो ।
भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदुर लकाडाउनका कारण घर आउन नपाउँदा भारतीय क्वारेन्टइनमा बसीरहेका थिए । भारतको धार्चुला, झुलाघाट र पिथौरागढका विभिन्न क्वारेन्टाइनमा अहिले एक हजार भन्दा बढी मजदुरहरू बसिरहेका छन ।