लकडाउन प्रभाव : निर्माण सामग्री अभावमा आयोजनको काम प्रभावित
ताप्लेजुङ : सिरिजंघा र सिदिङ्वा गाउँपालिका जोड्ने काबेली खोला मोटरेबल पुल सम्पन्न गर्नुपर्ने आगामी साउनसम्म छ । ४० मिटर लामो पुलको निर्माण अन्तिम चरणमा पुगेपछि कोरोना भाइरसको जोखिमका कारण मुलुक लकडाउन भयो ।
त्यसपछि ठेकेदारले निर्माण सामग्री ढुवानी गर्न सकेनन् । काम अघि बढ्न सकेन । 'सबै काम सकेर चैत्र १५ गतेदेखि ढलान गर्ने योजना थियो,' पुलको निर्माण जिम्मा पाएका मैनाचुली निर्माण सेवाका कृष्ण बस्नेतले भने, 'एक्कासी लकडाउन भएपछि सिमेन्ट, गिट्टी, ढलानमा प्रयोग गर्ने रसायन ढुवानी गर्न सकेनौं, निरन्तर काम गर्न पाएको भए अहिलेसम्म ढलान सेट भइसक्थ्यो ।'
पुल हेर्ने उत्तर-दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनासँग सल्लाह गरेर जडान भएका सामग्री निकाल्न थालेको निर्माण कम्पनीको भनाई छ । निर्माण सामग्री ढुवानी गर्न आफूहरुले समेत समन्वय गरेपनि सम्भव नभएको कार्यालय प्रमुख प्रमुख रामबहादुर गुरुङले बताए ।
४ करोड ७० लाख रुपैयाँ लागतको उक्त पुल सम्पन्न भए कञ्चनजंघा हिमालको काख याम्फुदिनसम्म सवारी पुग्न सक्छन् । स्थानीयले भने पुल निर्माण कार्य नरोक्न माग गरेका छन् । 'जसरी भएपनि सामान ल्याएर काम गर्नुपर्छ, अत्यावश्यक सामग्रीलाई प्रशासनले पासको व्यवस्था गरिदिनुपर्छ,' सिदिङ्वा गाउँपालिकाका नरेन्द्र कटुवालले भने, 'खुरुखुरु काम भए बैशाखसम्म सकिने थियो ।'
लकडाउनका कारण जिल्लाका अरु योजना पनि प्रभावित भएका छन् । फुङलिङ नगरपालिका र सिरिजंघा गाउँपालिकाको सिँकैचा जोड्ने फावाखोला मोटरेबल पुलको निर्माणमा संलग्न अधिकांश भारतीय मजदुर फर्किएका छन् । अहिले स्थानीय मजदुरले मात्रै काम गरिरहेको निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका हिमाल सिग्देल बताउँछन् । निर्माण अवधि एक वर्ष मात्रै छ । दक्ष कामदार नहुँदा काम प्रभावित भएको सिग्देलको भनाई छ ।
स्थानीय सरकारका अधिकांश योजना सम्पन्न भएपनि संघिय र प्रदेश सरकारका योजनाको बजेट फ्रिज हुने भएको छ । स्थानीय तहहरु धमाधम ठेक्काको सम्झौता गर्ने म्याद थपिरहेका छन् । 'हिमाली क्षेत्रमा अहिले धमाधम काम गर्ने बेला हो,' फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले भने, 'रड, सिमेन्ट, इन्धन केही पनि ढुवानी गर्न सक्ने अवस्था छैन, धेरैजना जम्मा भएर काम गर्न पनि मिल्दैन, बोलपत्र आह्वान गरेका ठेक्काको म्याद सरेको सर्यै छ ।' ओलाङचुङगोला स्वास्थ्य चौकी र लेलेप वडा कार्यालय भवन, लेलेप-मुरिङ्ला सडकलगायतका योजना यो वर्ष सम्पन्न हुने सम्भावना कम रहेको वालुङको भनाई छ ।