काठमाडौंबाट ६ सय ४८ जना ताप्लेजुङ फर्किए
ताप्लेजुङ : काठमाडौंमा रहेका ताप्लेजुङका ६ सय ४८ शनिबार बिहान गृह जिल्ला आइपुगेका छन् । लकडाउनका लारण रोकिएका, अध्ययनमा गएका र विभिन्न पेशा व्यवसायमा संलग्न नागरिक फर्किएका हुन् ।
‘लकडाउन कहिलेसम्म हुने हो निश्चित छैन,’ काठमाडौबाट फर्किएका विद्यार्थी राजिव मावोहाङले भने, ‘गाउँमै सुरक्षित हुने ठहर गरि आएँ ।’ लामो समय लकडाउनका हुँदा समस्यामा पर्न सक्ने अवस्थालाई मध्यनजर गरी जिल्ला पठाइएको ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष चित्रगुप्त साँवाले बताए ।
२१ वटा बसमा आएका उनीहरूलाई काबेलीस्थित हेल्थडेक्समा ज्वरो परीक्षण गरिएको थियो । काठमाडौंबाट आएको बसले सिरिजंघा र सिदिङ्वा गाउँपलिकाका स्थानीयलाई पाँचथरको गणेशचोकसम्म र अन्य स्थानीय तहकालाई फुङलङ बजारसम्म ल्याएको थियो ।
त्यसपछि सम्बन्धित स्थानीय तहले गाडीको व्यवस्था गरेर घरसम्म पुर्याएका छन् । जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनका अनुसार जिल्लामा सबैलाई पुग्ने क्वारेन्टाइन नभएका कारण उनीहरू १४ दिनसम्म होम क्वारेण्टाइनमै बस्नेछन् ।