कष्टकर क्वारेन्टाइन : गुन्द्रीमाथि रात कट्छ !

कष्टकर क्वारेन्टाइन : गुन्द्रीमाथि रात कट्छ !

गुल्मी : धुलै धुलो चिसो भुइँमा ओछ्याइएको छ फाटेको गुन्द्री। त्यही गुन्द्रीमा पुरानो चादर ओढेर सुत्छन् तीन किशोर। 

यो हो, चन्द्रकोट गाउँपालिका–१ को वडा कार्यालयमा बनाइएको क्वारेन्टाइन। आफूले काम गर्ने होटल बन्द भएपछि चितवनबाट तीन दिन हिँडेर गाउँ आइपुगेका उनीहरूलाई यही क्वारेन्टाइनमा राखिएको छ।

गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि बाहिरबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। तर, क्वारेन्टाइनमा सुरक्षा होइन, बिरामी परिन्छ कि भन्ने चिन्ताले किशोरलाई पिरोल्ने गरेको छ।

‘भोकभोकै हिँडेर तीन दिनमा घर आयौं। गाउँपालिकाले घर जान नदिएर क्वारेन्टाइनमा राख्यो’, करण विकले भने, ‘दिनदिनै पानी परेर पुस–माघजस्तो चिसो छ। तर, चादर ओढेर गुन्द्रीमा सुत्दा निदाउन पाइएको छैन।’

धुर्कोट गाउँपालिका–६ का सुरज विश्वकर्मा विद्यालयको कोठामा सामान्य कम्बल ओढेर बसेका भेटिए। उनी रातभर आगो तापेर बस्छन्। जनप्रतिनिधि आउलान् र पीडा सुनाउँला भनेर क्वारेन्टाइन बसेको चार दिनसम्म फर्किएर कोही नआएको उनको गुनासो छ। २७ दिन ‘होम क्वारेन्टाइन’ बसेर आफ्नै मोटरसाइकलमा काठमाडौंबाट आएका उनलाई क्वारेन्टाइनकै चिसोले बिरामी पर्ने डर छ।

‘दिउँसो त जसोतसो कटिहाल्छ’, उनले भने, ‘राति जस्ताको चिसोले निदै्र लाग्दैन।’

दिनदिनै परेको पानीले मौसम चिसो छ। विद्यालयको कक्षाकोठामा बनाइएका क्वारेन्टाइनमा बसेकाहरू भने कष्टकर जीवन बिताउन बाध्य छन्। चन्द्रकोट गाउँपालिका–१ का वडाध्यक्ष गोविन्दबहादुर बलालले वडा कार्यालयको क्वारेन्टाइन स्थानीयले बनाएको बताए। क्वारेन्टाइनमा बसेका नागरिकसँग भेट नभएको उनको भनाइ छ। उनका अनुसार वडा कार्यालयमा बसेका तीन जना किशोरका लागि खाना र बिस्तारा घरबाटै व्यवस्था गरिएको छ।

स्थानीय तहले वडाका विद्यालय भवनमा क्वारेन्टाइन बनाएका छन्। जस्ताको छानामुनि बेन्च जोडेर म्याट र पातलो कम्बलले चिसो थेग्न नसकेको क्वारेन्टाइनमा बसेकाको गुनासो छ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहले बनाएका क्वारेन्टाइन मापदण्डअनुसार नभएको बताए। अनुगमनका लागि गाउँ–गाउँ पुग्दा धेरैजसो ठाउँमा स्थानीय स्रोतसाधनबाटै क्वारेन्टाइन बनाएको पाइएको उनको भनाइ छ। उनका अनुसार कमजोरी सुधार्न स्थानीय तहलाई सुझाव दिइएको छ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले क्वारेन्टाइनमा आधारभूत आवश्यकताका सुविधा हुनुपर्ने बताए। जिल्लाका कतिपय क्वारेन्टाइनमा खाना, आवासलगायत सामग्री राम्रो भए पनि धेरैजसोमा आधारभूत सुविधा नपाइएको उनको भनाइ छ। उनका अनुसार क्वारेन्टाइन अनुगमन र कोरोना भाइरस नियन्त्रणमा संघीय सरकार र प्रदेश सरकारको सहभागिता जिल्लामा शून्य हुँदा लकडाउन कार्यान्वयन प्रभावकारी भएको छैन।

अन्य समयमा मानवअधिकारकर्मीको बाक्लो उपस्थिति हुने गरे पनि यस बेला जिल्लामा मानवअधिकारसम्बद्ध संघसंस्थाका प्रतिनिधि नआएको नागरिकको गुनासो छ। जिल्लामा १ हजार ५० वटा क्वारेन्टाइन बेड निर्माण गरिएको छ। क्वारेन्टाइनमा ६८ जना रहेको जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.