पूर्वसचिव उपाध्याय पक्राउ : ‘अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार’

पूर्वसचिव उपाध्याय पक्राउ : ‘अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार’

काठमाडौं  : पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरेकामा पूर्वप्रशासक आक्रोशित भएका छन्। सामाजिक सञ्जाल व्यक्तिको धारणा राख्ने साझा माध्यम भएको भन्दै त्यहाँ धारणा राखेकै आधारमा उनलाई लकडाउनका बेला रातारात हिरासतमा राख्नु जायज नभएको उनीहरूको तर्क छ।

उपाध्याय पक्राउपछि मुलुकमा वाक तथा लेख्ने स्वतन्त्रता चाहिँदैन भन्ने पुष्टि भएको उनीहरुको भनाई छ। साइबर अपराधको आरोपमा पक्राउ परेका हिरासतमा राखिएका पूर्वसचिव उपाध्यायलाई‌ साइबर क्राइममा मुद्दा चलाइएको‌ छ। उपाध्याय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालावीच सामाजिक सञ्जालमा एक अर्काप्रति आरोप÷प्रत्यारोप भएको थियो।

चीनबाट खरिद भएको स्वास्थ्य सामग्री लगायत समसामयिक विषयमा उपाध्यायले सामाजिक सञ्जालमा कडा शब्दमा‌ सरकारको आलोचना समेत गरेका थिए। अहिले सामाजिक सञ्जालमार्फत नै पूर्वप्रशासकहरूले उपाध्यायको रिहाइका लागि ‘क्याम्पेनिङ’ गरिरहेका छन्। पूर्वमुख्यसचिव विमल‌ कोइरालाले उपाध्यायलाई‌ बिनासर्त‌ स–सम्मान रिहा गरी सरकारले माफी‌ माग्नुपर्ने बताए। उनले‌ उपाध्यायको पक्राउले लोकतन्त्रको‌ मर्म र अभिव्यक्ति स्वतन्त्रतामाथि‌ प्रहार भएको प्रतिक्रिया ‌दिए। ‘लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता ‌हुन्छ,’ उनले भने, ‘लोकतन्त्रको मर्म नै सहिष्णुता हो, सामाजिक सञ्जालमा‌ लेखेकै आधारमा प्रकाउ गर्नु गतल हो।’

पूर्वसचिव शारदाप्रसाद त्रितालले उपाध्यायलाई बिनासर्त रिहाइ गर्न माग गरेका छन्। उनले भने, ‘थुन्ने हो भने उहाँका स्टाटसमा प्रतिक्रिया लेख्नेहरूलाई पनि थुन्नुपर्ने हुन्छ, जुन हजारौं संख्यामा छन्।’ सामाजिक सञ्जाल व्यक्तिले धारणा राख्ने माध्यम‌ भएको उनले बताए। त्रितालले भने, ‘यसमा एक व्यक्तिले कुनै विषयमा धारणा राख्ने बित्तिकै अर्कोले कि समर्थन गर्छ वा विरोध वा आलोचना।’

चीनबाट खरिद भएको स्वास्थ्य सामग्री लगायतका विषयमा उपाध्यायले सामाजिक सञ्जालमार्फत कडा शब्दमा‌ सरकारको आलोचना गरेका थिए।

गलत कुरा लेख्नेलाई सञ्जालमै जवाफ दिएर सजाय गरिसकेकाले यो नै सामाजिक सञ्जालको विशेषता भएको उनको बुझाइ छ। ‘व्यक्तिले कस्ता शब्द प्रयोग गर्छ त्यसले उसको छवि स्वतः उजागर गर्ने हुन्छ,’ त्रितालले भने, ‘हाम्रा ठूला नेता वा उहाँका सहयोगीहरूका शब्द पनि सामाजिक सञ्जालमा देखिराखेका छौं कि उहाँहरूलाई पनि कारबाही गर्नुपर्‍यो।’

पक्राउ परेका उपाध्यायका स्टाटसका आधारमा सरकारले प्रतिक्रियात्मक भइरहनु जरुरी नभएको उनी बताउँछन्। पूर्वसचिव द्वारिकानाथ ढुंगेलले सामाजिक सञ्जालमार्फत उपाध्यायको रिहाइको पूर्व कर्मचारीहरू अगाडि आउन आह्वान गरेका छन्। उनले इन्जिनियरिङ एसोसिएसन, पूर्वकर्मचारी परिषद्ले उपाध्यायको रिहाइको दबाब सिर्जना गर्नुपर्ने उनले बताए। उपाध्यायका केही विषयमा असहमत हुँदाहँुदै पनि सरकारले उनलाई पक्राउ गर्नु गतल भएको ढुंगेलको भनाइ छ। ‘लकडाउनका बेला रातरात पक्रेर थुन्नुपर्ने गरी के लेख्नुभयो,’ उनले भने, ‘संविधानले लेख्ने र बोल्ने अधिकार दिएको छ, कसैको लेखाइ‌ कडा होला तर उहाँले समसामयिक स्थितिबारेमै लेख्नु‌ भएजस्तो ‌लाग्छ।’

पछिल्लो‌ समयमा ‌सचिव कोइराला‌ लगायत अन्य कर्मचारीको‌ सामाजिक सञ्जाल हेर्दा, अभिव्यक्ति‌ सुन्दा कर्मचारीतन्त्रको‌ मर्यादा ‌नै भुलेको‌ भान हुन‌ थालेको‌ भन्दै ढुंगलले ‌दुःख व्यक्त गरे। त्यसैगरी पूर्वसचिव दीपेन्द्रविक्रम थापा कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वको पछिल्लो गतिविधिले आमनागरिकमा प्रशासन र राजनीतिक छवि धुमिल भएको बताउँछन्। संकट र विपद्का बेला दोहोरी खेल्ने समय नभएको उनको भनाइ छ। जागिरमा रहँदा होस् वा सेवानिवृत्त हुँदा, कर्मचारीले आफ्नो प्रोटोकल भुल्न नहुने थापाको धारणा छ। ‘सेवाभित्र वा बाहिर गएपछि होस् छवि कायम रहनुपर्छ,’ उनले भने, ‘यसले समग्र निजामती ‌कर्मचारीमाथि प्रश्न खडा हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.