लकडाउनमा किसानलाई गहुँ भित्र्याउने चटारो (फोटो फिचर)
जाजरकोट : जाजरकोटका किसानलाई यतिबेला गहुँ भित्र्याउन भ्याइनभ्याइ छ । गहुँ पाकेर पहेलपुर भएका छन् । किसानलाई कोरोना त्रासभन्दा गहुँ बाली भित्र्याउने चिन्ता छ । यतिबेला गहुँ काट्ने, माड्ने र भित्र्याउने बेला हो।गहुँ काट्ने सिजनमा दिनहुँजसो पानी पर्न थालेपछि भने किसान चिन्तित छन्।
गहुँ काटिसकेपछि माड्न चर्को घाम लाग्नुपर्छ । तर हरेक दिन पानी परेर भिजाइदिन थालेपछि गहुँ कुहिने डर किसानलाई छ। भेरी नगरपालिका २ का किसान भद्रकली कार्कीले दिनहुँ पानी पर्न थालेपछि गहुँबाली भित्र्याउन समस्या भएको बताइन्।
कतिपय गहुँ बारीमै छन् । काटेका गहुँ पनि माड्न नपाएपछि कुहिने अवस्थामा पुगेका छन् । गहुँ काट्दाकाट्दै पानी परेपछि कतिपय किसान मकै रोप्न थालेका छन् । बारीमा मल बोक्ने, मकै रोप्ने र गहुँ भित्र्याउने बेला भएकाले किसानलाई भ्याइनभ्याइ छ ।
'गाउँमा सबैको खेतीपाती छ । काम गर्ने मानिस भेटिदैनन् । आफैले सबैतिर भ्याउनुपर्छ,' भेरी नगरपालिका १ का बासुदेव शाहले भने, 'लकडाउनको प्रभाव गाउँमा छैन । सबै आ-आफ्नो काममा व्यस्त छन् । एकै पटक मकै रोप्ने र गहुँ काट्ने समय परेकाले खेताला पाउनै मुस्किल छ ।'
पानी परेपछि गहुँ कुहिने चिन्ता एकातिर छ भने अर्कोतिर आकाशे पानीको भरमा खेती लगाउने किसान समयमै मकै रौप्न पाउँदा खुसी भएका छन् । मध्ये बैशाखमा मकै रौप्दा बाली सप्रिने किसानको भनाई छ । जिल्ला सदरमुकाम खलंगामा लकडाउनको प्रभाव परेपनि ग्रामीण क्षेत्रमा भने मानिस कामकाजमै व्यस्त छन् ।
अध्ययन र मजदुरीका लागि जिल्ला बाहिर गएकाहरु जिल्ला फर्किएका छन् । सबै घरमै हुँदा पारिवारिक पुर्नमिलन हुनुको साथै सबै परिवार खेतीपातीमा संलग्न हुन थालेका छन् । बाँझै हुने जग्गामा पनि खेतीबाली लगाउन थालिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए।