कम्युनिस्ट भाइरसको दबदबा

कम्युनिस्ट भाइरसको दबदबा

पार्टी फुटाउने अध्यादेशमार्फत् आम नेपाली समाजमा कम्युनिस्ट भाइरसले आफ्नो परिचय पुनः दिएका छन्। यो समाचार सुनेर नेपाली समाजले आँखा खोलेजस्तो त गरेको छ तर चिरनिन्द्रामा नै अभ्यस्त यो समाज केही मिनेटपछि फेरि सुत्छ, त्यसमा कुनै दुविधा छैन। ऊ यो फुट, जुट र अनवरत भ्रष्टाचारको समाचारबाट अभ्यस्त छ। त्यसकारण उसलाई यो लाग्छ कि चिर निन्द्राबाट जाग्न आवश्यक छैन।

अल्पकालीन जुट र फुट नै साम्यवादी कम्युनिस्ट भाइरस संक्रमणको लक्षण हो तर यो भाइरस बाहिरी लक्षण भन्दा भित्री रूपमा कैयन् गुणा घातक छ। कम्युनिस्ट भाइरस कोरोनाभन्दा पनि एड्सजस्तो हो। सामान्य संसर्गबाट सर्ने कोरोनाले मानिसलाई चाँडै ढाल्छ तर जुन यो कम्युनिस्ट भाइरस नेपाल कम्युनिस्ट ल्याबमा विकसित गरिएको छ त्यो माफिया र कम्युनिस्ट नेताहरूको जटिल संसर्ग—संभोगबाट सर्छ र एकपटक सरेपछि लगभग निकै हुँदैन। दशकौंदेखि नेपाली कम्युनिस्ट पार्टीमा जुन भाइरसको सिर्जना भएको छ त्यो अन्य पार्टीमा पनि सरेको छ।

नेपाली कम्युनिस्टको अन्तरिक र बाह्य ‘युद्घ’मा शक्तिको भोक र संभोगको लालसा छ। त्यसैले यो साम्यवादी पार्टी आफ्नो सिद्घान्तलाई हरपल बलात्कार गर्न ठूला माफियालाई खुलेआम आमन्त्रण गर्छ। ७० वर्षको कथित साम्यवादी नेपाली इतिहास अपवादबाहेक तागत र रुपैयाँका लागि अधिकांश एकैजातका, एकैवर्गका र एकैखाले संकीर्ण सोचका पुरुषहरूले गरेको सिद्घान्तको खुलेआम अनैतिक धन्दा हो।

नेपाली कम्युनिस्ट ‘आन्दोलन’ यथार्थमा सामन्तवादी कुटिल खेलाडीको डबली हो जहाँ पोस्टरमा मात्र नेपाली मजदुर र किसान छन् तर यसको क्रियाशैलीमा निरन्तर हत्या, लुट र सत्ता स्वार्थ छन्। समस्या दोहनकारी पार्टीसत्तामा मात्र होइन कुसंस्कारयुक्त समाजमा पनि छ जहाँ दोहनको लाभको ‘हप्ता’ सबै नवधनाढ्य लाल सामन्तीहरूलाई पुग्छ। घाटा केवल तिनलाई छ जो विपन्न छन्, मजदुर छन्, किसान छन् तर तिनलाई आफू नेपाल कम्युनिस्ट पार्टीको पोस्टरमा देखिनुको लोभ छ। आफूलाई नै पोस्टरमा देखेर तिनले निरन्तर हसिया हथौडामा भोट हाल्छन्, लाल सामन्तीहरूले त हाल्ने नै भइहाले त्यही चुनावी भोटसूत्रले कम्युनिस्ट भाइरसले सर्वत्र विनास सिर्जना गरेको छ र नेपालीलाई दीर्घरोगी बनाएको छ। ७ दसकदेखि अधिकांश नेपालीका नसानसामा राता नदेखिने भाइरस टाँसिएका छन् तर तिनलाई पत्तो छैन। उनीहरू लालझन्डामुनि रहेर कहिल्यै साकार नहुने समानता र समृद्घिको नारा घन्काउँछन्, र स्वप्निल हुन्छन् कि कुनै दिन तिनको पनि सत्ताका कम्युनिस्टहरूका झैं चिल्ला गाडी, अग्ला महल र हतियारधारी फोकटका अंगरक्षक हुन्छन्।

पश्चिम रोल्पामा मन्चन भएका हुन् या पूर्वी झापामा, तिनका नौटंकीमा शोषित, मजदुर र किसानलाई ठड्याइएको छ, मानौं ती बुख्याचा हुन् र तर नौटंकीका जो नायक छन्, खलनायक छन्, निर्देशक छन्, ती केवल अभिजात वर्गका उपल्लाहरू छन्। तिनको पृष्ठभूमि या मानसिकता शोषक छ। तिनमा ब्वाँसो चरित्र छ जब स्वार्थ मिल्छ÷ मिल्छन्, जब स्वार्थ बाझिन्छन् ती फुट्छन्। यसमा आश्चर्य केही छैन। तिनका लागि लुटद्वारा शक्तिप्राप्ति र शक्ति दुरूपयोग नै सबथोक हो। तर, आश्चर्य केवल यसमा छ कि आम जनता ती ब्वाँसाहरूले दिएको मुक्तिको सपना पत्याउँछन्,आफूमात्र होइन पुस्ता दर पुस्ता चिन्नु न जान्नुका माक्र्स र लेनिनलाई सलाम गरेर फोकटको क्रान्तिमा जीवन ‘आहुति’ दिन्छन्।

मजदुर, किसान र अझै निम्न मध्यम वर्गीय नेपाली ती सर्वहारा मुक्तिदाताका दैनिक चर्तिकलाका ‘समाचार’ पैसा तिरेर पढ्छन्, सुन्छन् र हेर्छन्। तिनका हर ताण्डवका समाचारपछि चिनियाँ मोबाइलको विज्ञापन आउँछ, भारतीय स्याम्पुको विज्ञापन आउँछ, अमेरिकी कन्डमको विज्ञापन आउँछ। तर पनि नेपाली निर्लज्ज दलाल पुँजीवादविरुद्घ विद्रोह गर्दैनन्, राजनीतिक कुसंस्कारविरुद्घ विद्रोह गर्दैनन् किनकि तिनको रगतमा समाजवाद र साम्यवादको नाराको अफिम जो छ। त्यसले ती साम्यवादी समाजवादी खोलमा आएको सलह दलाल पुँजीवादलाई उनीहरू देख्दैनन्, ती सर्वहाराका नाइकेले चढ्ने चिल्ला गाडी देख्दैनन्। ती आसेपासे नातागोताका वातानुकुलित घर देख्दैनन् किनकि वर्ग संघर्षको रातो इनामेल पोतिएको चस्मा जो तिनले पहिरेका छन्। तिनका कानले दैनिकै करोडांैको राष्ट्रिय ढुकुटी लुटको फोन वार्ता सुन्दैन किनकि साम्यवादी झोले भजनमण्डलीमाझ भक्ति संगीत निरन्तर घन्किरहेको छ। देख्छन् ती केवल आफ्ना परमात्मा प्रचण्ड र ओलीलाई देख्छन् र ती पछाडी भित्ताका मृतात्मा माक्र्स र लेनिनलाई देख्छन्। धरातलमा आज नेपाल कम्युनिस्ट पार्टीले सिद्घान्त बोक्दैन, सबैभन्दा ठूलो संगठन पनि ऊ होइन यो त केवल सबैभन्दा ठूलो संगठित धन्दा हो, घरघर छिरेको मृत्युवाहक भ्रष्टाचार भाइरस हो।

आज जोजो व्यवसायी साम्यवादी सञ्जालमा छन् ती अस्पतालदेखि स्कुल कलेज सञ्चालन गर्छन् मास्कदेखि हवाइजहाजसम्मको व्यापार गर्छन्, तातो पानी त के तेजावले नै हात मुख कुल्ला गरे पनि केही दशक यो समाजबाट त्यो साम्यवादी भाइरस निर्मुल हुन गाह्रो छ।

हाम्रा मुलुकका साहुकारी (बोलीचालीमा सहकारी) जुन छन् तीमध्ये अधिकांश यिनै भाइरसहरूले चलाएका छन् जहाँ मिटर ब्याजमा किसान, मजदुर र साना उद्यमीले ऋण लिन्छन्, युवाले परदेश जान त्यही ऋण लिन्छन्। लेनिनले जुन पुँजीवादी साम्राज्यवादमा हुने शोषणको कुरा गरेका छन् त्यो हेर्न हामी पश्चिमा बैंकसम्म पुग्न पर्दैन। हाम्रा घर पाखाका वैध÷अवैध साहुकारी नै त्यसको उदाहरणको लागि पर्याप्त छन् जो स्थानीय चलअचल सम्पत्तिाको शोषण गर्छ र नव सामन्ती पूर्व ‘साम्यवादी’लाई स्थापित गर्छ। त्यो त्यही अखडा हो जहाँ तमसुक काटेर लाखौं नेपाली विदेश जान्छन्। यसकै सञ्जालले युवालाई परदेश पठाउँछ। त्यो विद्रोही युवा मुलुकमै रह्यो भने साम्यवादको व्यापारलाई उसले चुनौती दिन्छ त्यसैले एक वेश्यालयमा बेचिएको विवस महिला झैं त्यो पनि खाडीमा बेचिन्छ जहाँ उसको सपनामाथि अमिरहरू पलपल बलात्कार गर्छन्। उसको घरखेत, ऋण ब्याज, रेमिट्यान्स र किर्ते भोट सबै साहुकारी साम्यवादीहरूले हात पार्छन्। र, ती भाइरस अझै शक्तिशाली हुन्छन्।

स्कुलहरूको जुन सञ्जाल छ तिनमा पनि तिनै भाइरस छन्। ती भाइरस फेरि पनि सय थुंगा फुलका गान बालबालिका गाउन लगाउँछन् जहाँ सिंगो नेपाली बगंैचामा साम्यवादी साँढे छिरेको दसकौं भइसक्यो त्यसको विश्लेषण गर्दैनन्। उही उपनिवेशकालीन संस्कारमा गोडा फाटलाई स्ट्यान्ड अटिज र सतर्कलाई अटेनसनका दुई अंग्रेजी शब्द सुनाएर ती भाइरस अभिवावकलाई चुस्छन्। अभिवावक फेरि आफ्नै कलिला छोराछोरीलाई चड्काउँछन् र भन्छन् ‘त्यत्तिकै पढाको छैन तँलाई, लाखौं तिरेको छ तेरो पढाइमा। जसरी होस्, जहाँ गएर होस् तैंले कमाउनैपर्छ र तेरो कमाइमा हामीले रमाउनैपर्छ। र, त्यति मात्रै होइन हामीले हाम्रा छरछिमेकमा धाक रवाफ देखाउनैपर्छ।’ युवा छोरो भड्कन्छ र लाखौं होइन करोडौं कमाउन फेरि साम्यवादकै मोर्चा सम्हाल्छ किनकि देशमै बस्ने हो भने साम्यवाद भन्दा राम्रो कमाउधन्दा अर्को केही छैन।

पार्टीमा लाग्ने हर रेडलेबल कमरेडलाई उसलाई थाहा छ कि साम्यवादले नै उसलाई वडा सदस्यदेखि वडाध्यक्षसम्म बनाउन सक्छ नैतिकता, सेवा र सिद्घान्तले होइन। त्यसपछि वडाको बजेटले ऊ डोजर जोड्छ, त्यसपछि डोजरले उसलाई गिट्टी-बालुवा खानीसँग जोड्छ। र, गिट्टी बालुवाखानीले अन्ततः उसलाई बालुवाटारसँग जोड्छ। वर्तमान निर्वाचन प्रणालीमार्फत् सिंहदरबार र बालुवाटार पुग्नका लागि ठेकेदार र दलाल अत्यावश्यक होइन अपरिहार्य थिए, छन् र रहनेछ।

प्रक्रिया नपुर्‍याई पार्टी एकीकरण गरेर होस् या अध्यादेशमार्फत पार्टी फुटाएर, यी सबै घटना सब साम्यवादी नौटंकीका कथा÷पटकथा मात्र हुन् जसको लक्ष्य साम्यवाद होइन, समाजवाद पनि होइन, अकुत सम्पत्ति हो, केवल सत्ता आरोहण र निरन्तर दोहन हो।

अर्बौंको पुँजीगत खर्च जुन छ त्यो अर्थमन्त्रालयबाट सडक टालटुलका छिटपुट खर्चबाहेक सबै सत्ताधारी या प्रतिपक्षका पार्टी कोषमा नै जाने हो। किनकि अहिलेको राजनीतिमा डोजर, डन, धन र कमिसनले मात्र समाजवादी र साम्यवादी पार्टीका फुल कोर्ष पूरा हुन्छ र अब कसैलाई मनमोहन अधिकारी र भीमबहादुर तामाङ बन्नु छैन यहाँ। शिक्षामा, स्वास्थ्यमा, निर्माणमा होस् या आयातका हर ठेक्कापट्टाका साँवा ब्याज अन्ततः साम्यवादीहरूकै हातमा पुग्छ। व्यवसाय टिकाउनुछ भने साम्यवाद टिकाउनैपर्छ, र कम्युनिस्ट भाइरस फैलाउने र टिकाउने एक मात्र उपाए भनेको रातो ब्यानरमा कालो धन्दा चलाउनु हो।

हो, यो धन्दा त्यहाँ मात्र होइन, हर कोही नेपाली जब बिरामी हुन्छ सेतो होस् कि रातो एम्बुलेन्स चढेर डाक्टर होइन पहिला व्यापारीकहाँ पुग्छन्। एम्बुलेन्सहरूको पनि र्‍याकेट छ, यहाँ। भाडाका डाक्टरहरूका फोटो झुण्डाएर कम्युनिस्ट भाइरसहरूले नै गल्लीगल्लीमा ‘अस्पताल’ को दोकान खोलेर बसेका छन्। दुष्चक्र छ, जहाँ डाक्टर बन्न करोड लाग्छ, त्यहाँ १० वटा ट्याब्लेटको हजार रुपैयाँ पर्दा दुःख मान्नुपर्ने के छ ? डाक्टर, हुलाकको सुब्बा, सचिव वा व्यापारी वा माफिया जे भए पनि अवसरवादी असुल नै साम्यवादी सिद्घान्त हो जहाँ कम्युनिस्ट भाइरस विकसित हुन्छ। त्यो ‘आत्माविहीन’ भाइरसको ‘रस’ तातोपानीले धोएर थोडै मर्छ र ? कमरेड ! त्यो त केवल सर्छ र सरी रहन्छ।

लौ मरी नै गए पनि अझै चर्को बार्गेन त बाँकी नै छ। ज्यान गयो लास बोक्ने टाटा सुमो र ओम्नीका व्यापारीहरूको सिन्डिकेट छ, कतिमा लास उठाउने शववहानले श्वास फुस्किनासाथ बार्गेन गर्छ यो साम्यवादी मुलुक ‘नयाँ’ नेपालमा। ज्यँुदो छदा ट्याक्सी मिटरमा चलेन भनेर फेस्बुके विद्रोह नगर्नुस्। किनकि हामी दिवंगत भइसकेपछि पनि हाम्रो लासअगाडि हाम्रा सन्ततिहरूले हाम्रो लास उठाउन शववाहनसँग बार्गेन गर्नुपर्ने छ, मुचुल्का उठाउन कमिसन दिनु पर्ने छ, र मृत्यु दर्ता गर्न शुल्क तिर्नु पर्नेछ।

पार्टी नफुटेको कहिले थियो र ? अध्यादेशबाट फेरि कम्युनिस्ट पार्टी फुट्ला तर कम्युनिस्ट भाइरस फुट्दैनन्— ती सक्किँदैनन्, किनकि सम्पत्ति र शक्तिलालसाको कम्युनिस्ट भाइरस हरेक घरमा छ, हरेक संस्थामा छ, सामुदायिक बनमा छ, स्कुल सञ्चालक समितिमा छ, बस समितिमा छन् विश्वविद्यालयमा छ, प्रवासमा छ। कहाँ छैन राता कम्युनिस्ट भाइरस बिजहरू, ती यत्र तत्र सर्वत्र छन्। किनकि नेपाली बजारमा साम्यवादको माग छ। योभन्दा माल बनाउने अर्को धन्दा नेपालमा छँदै छैन।

तसर्थ प्रचण्ड—ओली जिनियस हुन्। किनकि ओली र प्रचण्डले हर नेपालीलाई ‘सर्वाइवल अफ द नेसन’ का लागि होइन सर्वाइवल अफ फिटेस्टका लागि कम्युनिस्ट पार्टी बनाएका हुन्। जो डन र धनमा फिट छ त्यो मात्र यो साम्यवादी सिस्टममा फिट छ। काउली महँगो भो, केही फरक पर्दैन खसी खाउँला। पोखरेली महँगो भो केही छैन मार्सी खाउँला। मंगला विद्यालय महँगो भो केही छैन बंगला स्कुल जाउँला। वीर ढिला भो केही छैन सिंगापुर जाउँला। भारतमा कम कमाइ भो कतार जाउँला, कतार मन परेन केही छैन क्यानाडा जाउँला। ‘सर्वाइवल साइकोलोजी’ र ‘द विनर टेक्स अल’ सोचाइ जबसम्म नेपालीमा रहन्छ तबसम्म कम्युनिस्ट भाइरसले यो मुलुकमा रहेर ताण्डव मच्चाई नै रहन्छ।

फुटोस् वा जुटोस् बाँच्नलाई कम्युनिस्ट बन्नुपर्छ। एउटा मिर्गौला सकिएर के भो २÷३ वटा हाल्न सकिन्छ। छोरो नभएर के भो बुहारीलाई मन्त्री बनाउन सकिन्छ। मुद्दा परेर के भो न्यायालय हल्लाउन सकिन्छ। बलात्कार गरेर के भो, ससम्मान रिहा हुन् सकिन्छ। भ्रष्टाचार गरेर के भो त्यो नगरी पार्टी कसरी चल्छ ? सत्ता कसरी बन्छ ? हो, त्यसैले तिमी कम्युनिस्ट भाइरस बन ता कि यो देशलाई बारम्बार संक्रमण गरिरहन सकियोस्, तिमी राता जुका बन ता कि यो देशका सिमान्तकृतहरूको रगत र पसिना अनवरत चुस्न सकियोस्।

प्रक्रिया नपुर्‍याई पार्टी एकीकरण गरेर होस् या अध्यादेशमार्फत पार्टी फुटाएर होस्, यी सबै घटना सब साम्यवादी नौटंकीका कथा पटकथा मात्र हुन् जसको लक्ष्य साम्यवाद होइन, समाजवाद पनि होइन, अकुत सम्पत्ति हो, केवल सत्ता आरोहण र निरन्तर दोहन हो। त्यसैले यहाँ बाँच्नु छ भने, अझै निर्मम भ्रष्ट कम्युनिस्ट भाइरस बन्नुपर्छ।

र, यदि होइन यो भ्रष्ट भाइरससँग अन्तिम लडाईं लड्ने नै मन छ भने पार्टीगत अफिम छोडौ, कालो धन्दाबाट हात झिकौं। सामाजिक र राष्ट्रिय स्वार्थका हासिल गर्न व्यक्तिगत र पार्टीगत स्वार्थलाई तिलान्जली दिऔं। आआफ्नो संकीर्ण मानसिकतालाई स्यानिटाइज गरौं अनि स्वच्छ र सफल नेपालको निर्माण गर्न सामूहिक योगदान गरौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.