सामाजिक दूरी कायम गरी फुङलिङमा खोप कार्यक्रम सुरु
ताप्लेजुङ : ताप्लेजुङको फुङलिङमा नियमित खोप कार्यक्रम सोमबारदेखि सुचारु भएको छ । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि एक महिनायता रोकिएको कार्यक्रम सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजकुमार पोख्रेलले बताए ।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्न सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले खोप रोक्नुपरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै कोभिड-१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालनका लागि सूचना जारी गरेपछि सुरु गरिएको पोख्रेलको भनाई छ ।
बालबालिकालाई जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिइन्छ । जसमा बिसीजी, डिपिटी, हेपाटाइटिस बी, दादुरा, जापानिज इन्सेफ्लाइटिस लगायत पर्छन् ।
खोप दिँदा भौतिक दूरी कायम गर्ने भनिएपछि फुङलिङ नगरपालिका-४ को वडा कार्यालयमा बच्चा लिएर जाने आमाको भीड लागेको थियो ।