शरीरमा हरेक दिन ट्याटु
लन्डन : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लकडाउनमा समय कटाउन धेरैले रुचिअनुसार घरभित्र गर्न सकिने काम गर्दै आएका छन्। केही साहित्यकारले दिनहुँ कवितावाचन गरेर सामाजिक सञ्जालमा अपलोड गरिरहेका छन् भने केहीले परिवारसँग रमाएको क्षण सेयर गरिरहेका छन्। यसै क्रममा लन्डनको उत्तर–पूर्वी क्षेत्र वाल्थमस्टोव निवासी क्रिस उडहेडले लकडाउनमा समय कटाउन गज्जबको आइडिया निकालेका छन्। उनको आइडिया हो, लकडाउनको अवधिसम्म हरेक दिन शरीरमा एउटा ट्याटु।
आफ्नै निवासको सोफामा बसेर क्रिसले आफ्नो शरीरमा नयाँ ट्याटु बनाउन ठाउँ खोजिरहेका छन्। उनको शरीरको प्राय: भाग ट्याटुले भरिसकेको छ। क्रिसको शरीरमा विभिन्न आकार र आकृतिका ट्याटु छन्। क्रिसको पैतालादेखि औंलाका काप्चासम्म ट्याटुले भरिएको छ। विगत डेढ दशकदेखि ट्याटु बनाउँदै आएका क्रिसले १८ वर्षको उमेरमा पहिलो ट्याटु खोपाएका थिए। लकडाउन सुरु हुने बेला नै उनको शरीरमा एक हजारभन्दा बढी ट्याटु थिए। लकडाउनमा अहिले उनको शरीरमा ४० ट्याटु थपिएका छन्।
क्रिस लन्डनको पूर्वी भागमा रहेको ट्याटु स्टुडियोमा ट्याटु आर्टिस्टका रूपमा कार्यरत थिए। तर लकडाउनका कारण स्टुडियो बन्द भयो। त्यसैले, समय कटाउन आफ्नै शरीरमा ट्याटु खोप्न थाले।
गर्भवती श्रीमती एमासहित आइसोलेसनमा बसेका क्रिसले लकडाउन जारी भएसम्म दिनको एउटा ट्याटु शरीरमा थप्ने सोचअनुरूप त्यसलाई जारी राखेका छन्। उनले भनेका छन्, 'लकडाउनमा काम केही थिएन, घरमै खाना खायो, त्यसै समय बितिरहेको थियो। अत्यास लाग्ने जस्तो भएको थियो। तर दिनको एउटा ट्याटु बनाउन थालेपछि सहज भएको छ।'
क्रिस हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म अहिलेको अवस्थाबाट प्रेरित भएका स्केच बनाउँछन्। त्यसपछि एक कप चिया पिएर त्यसलाई शरीरमा उतार्न थाल्छन्। यसले आफूलाई लकडाउनको समयमा मानसिक रूपमा स्वस्थ रहन सहयोग गरेको उनले बताएका छन्। तर अब लकडाउन लम्बिँदै गयो भने शरीरमा ट्याटु बनाउन ठाउँ रहँदैन कि भन्ने चिन्ता उनलाई छ।