सीमा सुरक्षामा खटिएका प्रहरी भारतीयद्वारा कुटिए
कपिलवस्तु : नेपाल भारत सीमा क्षेत्रअन्तर्गत यशोधरा गाउँपालिका ७ सेमरी नाकामा सीमा सुरक्षामा खटिएका दुईजना सुरक्षाकर्मीलाई छिमेकी भारतीय नागरिकले कुटपिट गरेका छन्।
मर्यादपुर प्रहरी चौकीबाट सेमरी सीमा नाकामा ड्युटी रहेका प्रहरी हवल्दार वशिष्ट यादव र प्रहरी जवान ईश्वर ज्ञवालीलाई सीमा नाका सँगैको भारतीय गाउँ पर्सौनाका भारतीयहरुले कुटपिट गरेका हुन्।
भारतीय नागरिकले सीमा नाकाको करिब दुई सय मिटर दक्षिण गाउँतर्फ कुटपिट गरी लैजाँदै गर्दा नेपाली सुरक्षाकर्मी र भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले उद्धार गरेका हुन्। घटनाको अगुवाई गर्ने ३ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी नियन्त्रणमा लिएको बताइएको छ।
भारतीय गाउँलेको बाख्रा नेपालतर्फ आउँदा ड्युटीमा रहेका नेपाली सुरक्षाकर्मीबाट गाउँका एक जनाले पिटाई खाएको विषयलाई लिएर उनीहरुले ड्युटीमा रहेका दुईजना प्रहरीलाई अपहरण शैलीमा कुटपिट गर्दै भारततर्फ लगेको पीडित प्रहरी जवान ईश्वर ज्ञवालीले बताए।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सीमा क्षेत्र शिल गर्ने घोषणा सँगै जिल्लाका सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ। सीमा नाका पूर्ण रुपमा बन्द भएपछि सीमा नाकाबाट ओहोरदोहोर गर्न नपाएका कारण सुक्षाकर्मी माथि आक्रमण गरिएको हुन सक्ने सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए।