बैतडीमा बालबालिका र गर्भवतीलाई खोप लगाउन सुरु
बैतडी : लकडाउनका कारण रोकिएको खोप सेवा बैतडीमा पनि सुरु भएको छ । स्वास्थ्य सेवा विभागले नियमित खोप सेवा सुरु गर्ने परिपत्र गरेसँगै जिल्लामा पनि नियमित खोप सेवा सुरु भएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
बालबालिकालाई जन्मेदेखि १५ महिना सम्म दिइने विभिन्न खोप तालिकाअनुसार सुरु गरिएको उनले बताए । उनले भने ,'नियमित खोप सेवा पाउने बालबालिकालाई खोप सुरु गरेका हो। कार्यतालिका अनुसार प्रत्येक खोप केन्द्रबाट खोप सेवा प्रदान गर्ने कार्य भइरहेको छ ।'
बैतडीमा ३३१ खोप केन्द्रबाट खोप सेवा सुचारु गरिएको छ । सुरक्षाका उपायसहित बालबालिकालाई खोप दिन सुरु गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए । बालबालिकालाई जन्मेदेखि १५ महिनाभित्र विभिन्न रोग विरुद्ध ११ प्रकारका खोप दिइन्छ । बालबालिकालाई बीसीजी, डिपीटी, दादुरा /रुबेला, एफआइपीभी, पोलियो, जापनीज इन्सेफलाइटिस र पिसीभी खोप १५ महिनाभित्र दिने गरिन्छ ।
यी खोपहरुले बालबालिकालाई विभिन्न रोग लाग्नबाट बचाउने गर्दछ । यस्तै गर्भवती महिलालाई लगाइने टीटी खोप पनि सूचारु भएको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।