आम्दानीको लोभले अवैध अफिम खेती
जाजरकोट : जिल्लामा अवैध रुपले अफिम खेती मौलाउँदै गएको छ। आम्दानीको लोभले यहाँका किसान लागूऔषध अफिम खेती गर्न थालेका हुन्। कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयवासी अफिम खेतीमा आकर्षित भएका हुन्।
धेरै आम्दानीको आशमा किसानले आफ्नो पाखोबारीमा गहुँ, जौ, तोरी लगायतको खेती छोडेर अफिम खेती गर्ने गरेका हुन्। प्रहरीको गस्ती टोली नपुग्ने विकट र गाउँको वन क्षेत्रको पाखोबारीमा अबैध रुपले अफिम खेती गर्ने गरेको स्थानीय हाँसीलाल पन्तले बताए।
उनका अनुसार सिँचाइ अभावका कारण पाखोबारीमा अन्नबाली उत्पादन घटिरहेको बेला किसान अफिम लगाउन थालेका हुन्। ‘अन्न उत्पादनले वर्षभरि खान नपुग्ने किसानले अफिमबाट लाखौं आम्दानी गरिरहेका छन्’, उनले भने, ‘प्रहरीले पनि बेवास्ता गर्दा अवैध अफिम खेती फस्टाउँदै गएको छ।’
उनका अनुसार गाउँमा अफिम प्रतिकिलो करिब पाँच लाख रुपैयाँमा बिक्री हुन्छ। उनले दुई रोपनी पाखोमा दुई किलोसम्म अफिम उत्पादन हुने बताए। गाउँगाउँमा लगाएको अफिम खेतीबाट वैशाखको अन्तिम साता अफिम निकाल्ने काम सुरु हुन्छ। ‘अफिम किन्न व्यापारी बारीमै आउँछन्, बिक्रीको समस्या छैन’ उनले थपे, ‘आम्दानीको लोभले लुकेरै खेती गर्ने गरिएको हो।’ जिल्लाको कुशे, नलगाड, जुनीचाँदे र बारेकोटमा अफिम खेती राम्रो हुने गरेको छ।