क्वारेन्टाइनमा बसेका ४८ जना घर फर्किए
मलंगवा : भारतको उत्तरप्रदेशको कानपुरबाट सर्लाहीको चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४८ जनालाई घर पठाइएको छ । चन्द्रनगर गाउँपालिका-६, स्थित कामत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका ४८ जनालाई घर पठाइएको प्रमुख प्रशासकिय अधिकृत अशोक साहले जानकारी दिएका छन् ।
दुई देशको कडा लकडाउन छिचोल्दै भारतको कानपुरबाट लुकिछिपी उनीहरु घर आएका थिए । चैत्र २७, २८, २९ र बैशाख २ गते उनीहरु भारतबाट आफ्नो गाउँपालिकामा आएको थियो।
१४ दिन पूरा भएको तथा सबैको स्वाबको पीसीआर रिपोर्ट समेत नेगेटिभ आएकाले केही खाद्यान्न समेत दिएर घर पठाइएको हो । अहिले पनि २७ जनालाई क्वारेन्टाइनमा राखेका छौं । '२५ जनालाई वडा नं. २ स्थित दुर्गा खोभारी जनता माध्यमिक विद्यालयमा राखेका छौं, अधिकृत साहले भने, 'कामतमा रहेको क्वारेन्टाइनमा बसेका २ जनालाई १४ दिन पूरा नभएकाले उनीहरुलाई पनि दुर्गा खोभारीमा नै ल्याएर राखिएको छ ।'
भारतीय सुरक्षाकर्मीले आफ्नो क्वारेन्टाइनमा राखेका १२३ जना नेपालीलाई कनौली नाकास्थित लखन्देही खोला नजिक सीमा क्षेत्रमा ल्याएर छाडेका मध्ये लुकेर गाउँ आएकालाई दुर्गा खोभारीको क्वारेन्टाइनमा राखिएको हो ।
उनीहरुको समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाले १४ दिन राखेर घर पठाइने अधिकृत साहले बताए।