असिनापानीले बैतडीमा अन्नबाली सखाप, भोकमरीको चिन्ता
बैतडी : जिल्लाको धेरैजसो ठाउँमा असिनापानीले गहुँबाली नष्ट गरेपछि किसान भोकमरी हुने चिन्तामा परेका छन् । केही दिनयता लगातार परिरहेको असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको किसानले बताएका छन् । 'असिनाले पाकिसकेको गहुँबाली सखाप पारिदियो ।
यो वर्ष भोकमरी हुने देखिएको छ । खेतमा लगाएको गहुँ माटोमै मिसियो,पुर्चौंडी नगरपालिका ८ का रामबहादुर धानुकले भने, 'अहिले यति असिना परेको मलाई थाहा छैन् । यो वर्ष धेरै असिना पर्यो । असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको छ ।'
असिनाले बारीमा लगाएको सबै गहुँबाली सखाप पारेको पुर्चौंडी नगरपालिका ३ ढुंगाबिसौनका अर्जुन लुहारले बताए । उनले एकातिर लकडाउनले छाक टार्न मुस्किल भएको र अर्कोतिर बारीमा भएको सानोतिनो अन्न पनि असिनाले सखाप पारिदिएको दुखेसो पोखे।
दैनिक परिरहेको असिनापानीले डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकामा गहुँबाली र तरकारी खेतीमा व्यापक क्षति पुर्याएको छ। कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जिल्लाका धेरैजसो ठाउँमा असिनाले क्षति पुर्याएको जानकारी दिए। पहेँलो सिन्दुरे रोगले प्रभावित बाली असिनाका कारण झन् सखाप हुँदा गहुँ उत्पादनमा कमी आउने देखिएको छ।
जिल्लाको पाटन नगरपालिकाका केही क्षेत्रमा असिनाले गहुँमा क्षति पुर्याएको छ भने गहुँ उत्पादन हुने मुख्य फाँटमा पहेँलो सिन्दुरे रोगले गहुँ उत्पादन घटेको छ । जिल्लाभरीको अवस्था हेर्दा यो वर्ष गहुँ उत्पादनमा निकै कमी आउने देखिएको कृषि ज्ञान केन्द्रले आंकलन गरेको छ । गत वर्ष २४ हजार ५ सय मेट्रिक टन गहुँ उत्पादन भएकोमा यो वर्ष गहुँको उत्पादनमा कमी आउने निमित्त प्रमुख चन्दले बताए । बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँखेती गरिँदै आएको छ ।
तरकारीबालीमा पनि क्षति
केही दिनदेखि लगातर रुपमा भइरहेको असिनासहितको वर्षाले लहरे तरकारीमा क्षति पुर्याएको छ । भर्खरै उम्रन लागेका लहरे तरकारीमा असिनाले क्षति पुर्याएको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । उनले भने, 'यो वर्ष असिनाले तरकारीबालीमा समेत व्यापक क्षति पुर्याएको छ ।
भर्खर उम्रन लागेका काँक्रा, फर्सीलगायतका लहरे तरकारीमा बढी क्षति पुर्याएको ।' असिनाले तरकारीका बेर्नामा समेत क्षति पुर्याएको किसानले बताएका छन् । तरकारीका बेर्नामा असिनाले व्यापक क्षति पुर्याएको किसानको भनाइ छ ।