उपभोक्ता समिति गठन विवादमा वडा अध्यक्षमाथि निर्घात कुटपिट
कालिकोट : जिल्लाको पचालझरना गाउँपालिका १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको छ । उपभोक्ता समिति गठनको विवादका कारण स्थानीय युवा उमेश न्यौपाने, कमल न्यौपाने, तिलक न्यौपाने, जनक न्यौपाने र पारस न्यौपानेले वडा अध्यक्षमाथि कुटपिट गरेका हुन् ।
पचालझरना गाउँपालिकाबाट विनियोजित एक लाख बजेटको गाउँमा बाजेको माडु भन्ने मन्दिर निर्माणको योजना थियो । उक्त योजनाको उपभोक्ता समिति गठनको विषयमा विवाद भएको थियो । उक्त विवादपछि गाउँका ती युवाहरु र वडा अध्यक्षबीच बारम्बार खट्पट हुँदै आएको थियो ।
तर, उक्त योजनाको काम सम्पन्न भइसकेको छ । पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालका अनुसार बुधबार वडा कार्यालयमा बैठक बसी घर फर्किँदै गर्दा बीच बाटोमा कार्यालय सहयोगी प्रकाश न्यौपाने र ती पाँचजना युवाहरुबीच त्त्यसै विषयमा विवाद भएको र वडा अध्यक्ष विवाद समाधान गर्न जाँदा कुटपीट भएको हो।
उनले भने, 'काम सम्पन्न भइसकेको योजनाको उपभोक्ता समिति गठन गर्दाको विषयलाई लिएर अहिले वडा अध्यक्ष माथि कुटपिट गर्नु गलत हो । उनीहरुलाई कानुनी कारबाही गर्छौं।'
कुटपिटबाट वडा अध्यक्ष न्यौपानेको टाउको, नाक, हात, छातीमा गहिरो चोट लागेको छ।उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ । इलाका प्रहरी चौकी पचालझरनाका इन्चार्ज पुष्प कडायतले भने,' वडा अध्यक्षमाथि कुटपिट गर्ने स्थानीय युवा उमेश न्यौपाने, कमल न्यौपाने, तिलक न्यौपाने, जनक न्यौपाने र पारस न्यौपानेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । उनका अनुसार कुटपिटमा संलग्न ती युवा आफै प्रहरी चौकी आएका हुन् ।
यता कुटपिटमा संलग्न जनक न्यौपानेका बुवा देववीसंकर न्यौपानेले वडा अध्यक्षलाई युवालाई पिट्न आउँदा आफै लडेर चोट लागेको बताए। उनले भने, 'कार्यालय सहयोगीसँगको विवादमा वडा अध्यक्ष आफै आएर तम्सिएर उमेश न्यौपानेलाई धान कुट्ने मुसलले हाने । अहिले उमेश न्यौपाने पनि घाइते छन्। आफूले कुटाई खाइसकेपछि उसले धकेल्दा वडा अध्यक्ष खलाको डिलमा लडेर ढुँगालमा लाग्दा चोट लागेको हो ।'
मंगलबार मदिरा सेवन गरी वडा अध्यक्षले कांग्रेसका युवाहरुलाई आफ्नो विरोध गर्ने भनेर गाली गरेका थिए । त्यो गाली रेकर्ड गरिएको छ।गाउँमा हुने हरेक विकास निर्माणका कामहरुमा आसेपासेलाई मात्र समेट्ने गरेकाले वडा अध्यक्षमाथि सबै युवाहरु सकारात्मक नभएको बताइएको छ।