पैसा हुनेलाई मात्रै उपयुक्त अनलाइन शिक्षा

पैसा हुनेलाई मात्रै उपयुक्त अनलाइन शिक्षा

इटहरी : इटहरीस्थित जनता क्याम्पसले १५ गतेदेखि आफ्ना विद्यार्थीका लागि इन्टरनेटको माध्यमबाट पढाइ सुरु गर्‍यो।जुम एपको सहयोगमा शिक्षकले विद्यार्थीलाई घरमै पढाउन थाले।

तर, क्याम्पसका आधाभन्दा बढी विद्यार्थीको घरमा इन्टरनेटको सुविधा छैन।केही विद्यार्थी आफ्नो गाउँ गएका छन्, जहाँ मोबाइलको टावर नै मुस्किलले टिप्छ।इन्टरनेटको सुविधाबिनै अनलाइन कक्षा चलाएकामा धेरैजसो विद्यार्थी असन्तुष्ट छन्।

जनता क्याम्पसका विद्यार्थी दीपक गड्तौला अहिले तेह्रथुमको मोराहाङमा छन्।काम विशेषले त्यहाँ पुगेका उनी लकडाउनका कारण उतै बसिरहेका छन्।

‘मैले न कुनै पुस्तक ल्याएको छु न त नोट बुक नै,’ उनी भन्छन्, ‘क्याम्पसले अनलाइनमार्फत पढाउने भनेको रहेछ, डाटा चलाउनकै लागि आधा घण्टा पैदल हिँडेर कामिडाँडासम्म पुग्नुपर्छ, कसरी पढ्ने ? ’

उनले घरमै भएर पनि इन्टरनेटको पहुँचबाहिर रहने आफूजस्तै विद्यार्थी धेरै रहेको बताउँदै अनलाइन कक्षाको व्यावहारिकतामाथि प्रश्न उठाए।सोधे, ‘अब हामीले परीक्षाको तयारी कसरी गर्ने ? ’

अनलाइन कक्षाका लागि ल्यापटप वा स्मार्टफोन प्रयोग गर्न सकिन्छ।तर, धेरै विद्यार्थी र तिनका अभिभावकसँग त स्मार्टफोन छैन।इन्टरनेट त टाढाको कुरा, मोबाइलमा टावर पनि नटिप्ने गाउँघरमा बसेर लकडाउन खुल्ने प्रतीक्षामा छन् विद्यार्थी।

आरआर कलेजका विद्यार्थी मौसम पौडेल अहिले संखुवासभामा छन्।कलेजले अनलाइनमा पढाउने तयारी गरेको सुनेका उनी पढ्न नपाइने पिरले पिरोलिएका छन्।‘म बसेको ठाउँमा न मोबाइलको नेटवर्क छ, न रिचार्जकार्ड नै सहज छ,’ उनले भने, ‘वाइफाई त परको कुरा।’

सहरी क्षेत्रमा हुने विद्यार्थीको पनि इन्टरनेटमा सहज पहुँच छैन।सहरी क्षेत्रमा दैनिक ज्याला-मजदुरी गरेर छोराछोरी निजी विद्यालय पढाउने अभिभावकहरू इन्टरनेटको थप शुल्क तिर्न सक्ने अवस्थामा छैनन्।यस्तै, कोठा भाडामा बसेर दुःख गरेर पढ्ने विद्यार्थीका लागि इन्टरनेट पहुँच बाहिर छ।‘इन्टरनेटको शुल्क महिनाको १५ सय रुपैयाँ पर्छ,’ विराटनगरका सुनील पोखरेलले भने, ‘क्याम्पस फि, घरभाडा नै कसरी तिर्ने समस्या हुन्छ, इन्टरनेट कसरी जोड्ने ? ’

उनले सरकारले नै इन्टरनेट फ्री गर्नुपर्ने बताए।‘अब इन्टरनेट नै स्वास्थ्य, शिक्षा, विकास, सञ्चारको आधार हो भने हामीले इन्टरनेटलाई धेरै सस्तो या फ्रि गर्नुपर्छ, ’ उनले भने।

अर्का विद्यार्थी रिजेन भट्टराईले पनि फ्रि इन्टरनेट हुनुपर्ने बताए।‘इन्टरनेट अब मानिसका लागि अत्यावश्यक भइसक्यो, त्यसैले सहज उपलब्धतातिर सरकारले ध्यान दिनुपर्‍यो,’ उनले भने, ‘नत्र तत्कालका लागि रिचार्ज कार्ड सरकार वा क्याम्पसले उपलब्ध गराएर पढ्ने व्यवस्था गर्नुपर्‍यो।’

क्याम्पस पढ्ने विद्यार्थीको यो अवस्था छ भने सहर बजारका कतिपय मन्टेश्वरी र स्कुलले पनि अनलाइन शिक्षा सुरु गरेका छन्।तर, अधिकांश अभिभावकको घरमा इन्टरनेट नभएकाले समस्या आएको उनीहरू बताउँछन्।कतिपय अवस्थामा भने साना विद्यार्थीसँगै आमाबुवा पनि प्रविधिबारे जानकार नहँुदा इन्टरनेटको सुविधा भए पनि समस्या आउने गरेको छ।

शिक्षामा लामो समय काम गरेका इटहरीका अभिभावक रमेश धितालले अनलाइन शिक्षा लागू गर्दा इन्टरनेट पहुँच नहुने र हुनेबीचको शिक्षामा असमानता बढ्ने चिन्ता व्यक्त गरे।

विद्यालयहरूले भने यसलाई केही नहुनुभन्दा केही हुनु राम्रो हो भन्ने तरिकाले अथ्र्याएका छन्।जनता कलेजका सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्लेले त्रिभुवन विश्व विद्यालयको निर्देशनअनुसार तत्काललाई इन्टरनेटमा आधारित कक्षा सुरु गर्न लागिएको जानकारी दिए।यस्तो सिकाइले विद्यार्थीको पठन संस्कृतिलाई निरन्तरता दिने उनको भनाइ छ।पहुँच नभएका विद्यार्थीका लागि नोट तयार गरेर उपलब्ध गराइने उनले बताए।

तर, इटहरीकै जनता स्कुलले भने अनलाइन कक्षाको अर्थ नरहेको जनाएको छ।स्कुल व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले घरमा व्यावहारिक तथा घरायसी कुरा सिकाउन र सिर्जनात्मक प्रतिभा विकासमा समय उपयोग गर्न आग्रह गरे।

इटहरीका सेमन्त उपाध्यायले भने नेपालमा बालबालिकालाई इन्टरनेटबाट शिक्षा दिनुलाई ढर्रा र कमाउ धन्दाको संज्ञा दिएका छन्।‘फि उठाउने नयाँ तरिका हो,’ उनले भने, ‘यति भए पनि पढाएको छ भनेर भन्न त पाइन्छ, विद्यार्थीको भन्दा पनि फि को चिन्ता थपिने मात्र हो।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.