कालिकोटमा कोरोना परीक्षण : ४२६ जनाको रिपोर्ट नेगेटिभ, दुईको स्वाब नमूना सुर्खेत पठाइयो
कालिकोट : जिल्लामा कोरोना परीक्षण द्रूत गतिमा थालिएको छ । बिहीबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी कुल ४ सय २६ जनाको र्यापिड टेस्ट गरिएको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार विदेबाट आएका तथा संकास्पद ठाउँबाट आएका मानिसलाई लक्षित गरी तीव्र गतिमा र्यापिड टेस्ट गर्ने कार्य भइरहेको बताए ।
उनकाअनुसार बिहीबारसम्म जिल्लामा ४ सय २६ जनाको र्यापिड टेस्ट गर्नुका साथै दुईजनाको स्वाब संकलन गरी थप परीक्षणका लागि सुर्खेत पठाइएको छ । उनका अनुसार ती सबै जनाको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । सूचना अधिकारी महतले भने, 'र्यापिड टेस्ट गर्ने स्वास्थ्यकर्मीको टोल गाउँमै छ । पछिल्लो समय जिल्ला बाहिरबाट व्यापक रुपमा मानिस भित्रिएकाले तिलागुफा नगरपालिकाबाट एकजना र सान्नीत्रिवेणी गाउँपालिकाबाट एकजनाको थप परीक्षणका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएको छ ।
उनीहरुको पनि र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लामा अहिले पनि ५ सय ७३ जना क्वारेन्टाइनमा छन् । हालसम्म जिल्लामा जम्मा १३ जनाको स्वाब संकलन गरिएकोमा ११ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।
पछिल्लो पटक पठाएका दुईजनाको रिपोर्ट आउन बाँकी छ । क्वारेन्टाइनमा बसेका विदेशबाट तथा संक्रमित पहिचान भएको ठाउँबाट आएका मानिसमध्ये नमूनाका रुपमा र्यापिड टेस्ट गरिने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी महतले बताए । उनले भने,' पहिलो चरण ४ सय किट आएका थिए सकिए । दोस्रो चरणका लागि २ सय किट आएका छन् ।'
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कोरोनाको जोखिमका हिसाबले जिल्ला सामान्य रहेको बताए । उनले गाउँमा स्वास्थ्यकर्मीको टोली र्यापिड टेस्ट गर्ने कार्यमा सक्रिय रुपमा खटिरहेको र हालसम्म कसैलाई पनि संक्रमरण नदेखिएको जानकारी दिए ।