मातृभूमी टेक्न पाउँदाको खुसी
बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका ३ का सल्लो पार्की नयाँ वर्ष अर्थात ‘बिसु’का लागि घर फर्कन पिथौरागढबाट एक महिनाअघि झुलाघाट आइपुगे । तर लकडाउनका कारण फर्कन पाएनन् र भारतीय क्वारेन्टाइनमै बसे । भारतीय क्वारेन्टाइनमा एक महिनाभन्दा बढी बसेपछि बिहीबार मातृभूमी टेक्न पाए । एक महिनादेखि सीमामै अड्किएका उनी स्वदेश फर्कन पाउँदा उनी निकै खुसी देखिन्थे ।
‘पारीबाट वारी नेपाल हेर्थ्यौं । एक महिनासम्म नेपाली भूमी हेरेरै चित्त बुझायौं । कहिले घर फर्किन पाइन्छ भनेर दिन गनेर बसिरहन्थ्यौं। विपतको समयमा विदेशी भूमीमा निकै अप्ठ्यारो हुने रहेछ’, उनले भने, ‘आज हामी धेरै खुसी भएका छौं । आफ्नो जन्मभूमीमा फर्कन पाउँदा ठूलो युद्ध जितेर आए जस्तो भएको छ ।’
पुर्चौंडी ३ कै जोगे पार्की पनि एक महिना भारतीय क्वारेन्टाइन बसाइपछि स्वदेश फर्कन पाउँदा निकै हर्षित मुद्रामा देखिए । उनले भने, ‘कोरोनाको संक्रमण भारतमा बढी छ । त्यसैले चाँडै स्वदेश फर्कन पाए हुन्थ्यो भने लागिरहन्थ्यो । सीमामा एक महिना बसेर स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको छ । यो कार्यमा सहयो गर्ने सबैलाई धन्यवाद दिन चहान्छु ।’
रोजगारीका लागि भारतको पिथौरागढ पुगेको बझाङको बुंगल नगरपालिकाका हरिप्रसाद जोशी पनि बिहीबार झुलाघाट नाका भएर स्वदेश फर्किए । भारतीय क्वारेन्टाइनमा एक महिना बसेर स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको उनले सुनाए । उनले भने, ‘चैत अन्तिम साता घर फर्कने योजनासहित पिथौरगढ गएको थिएँ । लकडाउनका कारण फर्कन पाइएन। ढिलै भए पनि मातृभूमि टेक्न पाउँदा निकै खुसी लागेको छ ।’
भारतीय क्वारेन्टाइनमा बसेका नेपाली मजदुरहरुलाई एक महिना बढी भएपछि भारत र नेपालका स्थानीय प्रशासनहरुबीचको सहमति र केन्द्रीय सरकारहरुको मौखिक आदेशमा स्वदेश फर्काइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । उनले भने, ‘हामीले नेपाली मजदुरहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि ल्याउन सकिन्छ भनेका थियौं । लकडाउन थपिएका कारण त्यो सम्भव भएन । अहिले दुवै देशका स्थानीय प्रशासनहरुबीचको समझदारीमा मजदुहरुलाई स्वदेश ल्याएका हौं ।’
भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट झण्डै ९ सय नेपाली मजदुर भित्रिने आँकलन गरिएको छ । यो समाचार तयार पार्दासम्म ३७३ नागरिक स्वदेश फर्किसकेका छन् । बैतडीका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्ने गरी पठाइनेछ भने डडेल्धुरा र बझाङका नागरिकलाई पनि सम्बन्धित जिल्लामा पठाइनेछ । अन्य जिल्लाका नागरिकहरुलाई बैतडीमै क्वारेन्टाइनमा राखिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
सीमा नाका समान्य ज्वरो चेक गरेर नागरिकहरुलाई स्वदेश फर्काइएको हो । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि आरडीटी गरेर रिपोट नेगेटिभ आएमात्रै घर पठाइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।