सप्तरीमा रतुवा मृग मार्ने उदयपुरका दुई पक्राउ
राजविराज : रतुवा मृग मार्ने उदयपुरका दुईजनालाई सप्तरीको महुली सव-डिभिजनअन्तर्गतको वन क्षेत्रबाट पक्राउ गरिएको छ । मृत मृगसहित उदयपुरको त्रियुगा नगरपालिका-१ मैन्हाका अशोक राई र मिश्रीलाल चौधरीलाई बुधबार राती पक्राउ गरिएको सहायक वन अधिकृत धनराज मण्डलले बताए ।
गस्तीका क्रममा बुधबार राती मृगको छाला निकाल्न पानी उमालिरहेका बेला मृत रतुवामृगसहित दुईजना पक्राउ परेका हुन् । मण्डलका अनुसार चुरेको डाँडामा रहेको पानीढलो क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।
'मृत मृग लैजाँदै छ भन्ने सूचनाको आधारमा घेरा हाली पक्राउ गरेका हौं, उनले भने, 'यसको थप अनुसन्धान डिभिजन वन कार्यालय, सप्तरीले गर्नेछ ।'पक्राउ परेका दुईजना र मृत मृग महुली सव डिभिजन कार्यालयको नियन्त्रणमा छ।
'उनीहरूको प्रारम्भिक बयान अनुसार भरुवा बन्दुक प्रहार गरेर मृग मार्नेहरु फरार भएको छाला निकाल्न पानी तताइरहेका हामी पक्राउ परेका हौं, डिभिजन वन कार्यालयका प्रमुख सन्तोष झाले भने, दुईजना पक्राउ परे पनि मृग मार्ने कार्यमा अरु को-को थिए अझै खुल्न सकेको छैन। पक्राउ परेकाको बयान अझै सकिएको छैन।'
यसैगरी बुधबार राति सप्तरीको शम्भुनाथ नगरपालिका-७, भंगहास्थित वन क्षेत्रबाट ११ क्यूफिट सालको काठ बरामद भएको छ । चिरान गरिएको १५ थान काठ बरामद गरी आवश्यक अनुसन्धान सुरु गरिएको सहायक वन अधिकृत रामअशिष यादवले बताए । काठको बजार मूल्य ५५ हजार रुपैयाँ छ ।