'ट्राभल हिस्ट्री' ले भेटाएका संक्रमित
बारा : दुई छिमेकी जिल्ला पर्सा र रौतहटमा कोरोना संक्रमितको संख्या थपिदै जाँदा बारामा भने यसको संख्या शून्य थियो । भारतीय सीमासँग जोडिएको भएपनि बारामा संक्रमणले प्रवेश पाएको थिएन ।
जिल्लाका सबै स्थानीय तहले आफ्नो क्षेत्रमा क्वारेन्टाइन स्थापना गरेर शंकास्पद व्यक्तिलाई निगरानी गर्दै आएका थिए । भारतसहित अन्य मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर परीक्षणपछि मात्रै घर पठाउने गरिएको थियो।
खुल्ला सीमा र छिमेकका दुई जिल्लामा बढ्दै गएको संक्रमितको संख्याले बारा उच्च जोखिममा भने थियो । स्थानीय प्रशासन र सुरक्षा संयन्त्रले सीमासहित शंकास्पद स्थानमा निरन्तर निगरानी गर्दै आएका थिए । कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न स्थानिय तहमा जनप्रतिनिधिको सक्रियता बढीनै देखिन्थ्यो । तर एकैदिन दुईजनामा संक्रमण देखिएपछि स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायलाई थप रणनीतिसहित अघि बढ्न चुनौती थपिएको छ ।
बारामा भेटिएका दुई संक्रमित 'ट्राभल हिस्ट्री ' को माध्यमबाट खुलेका हुन् । वीरगंजका एक पुरुषमा बैशाख १४ गते कोरोना पोजिटिभ देखिएपछि उनको (ट्राभल हिस्ट्री)ले स्थानीय प्रशासनलाई बाराका पुरुषसम्म ल्याएको हो । कोरोना संक्रमण देखिएका वीरगंज महानगरपालिका १६ ईनर्वाका पुरुषसँगै उनीहरु भारतको नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिगी जमातको धार्मिक मेलामा सहभागी भएर फाल्गुन २९ (मार्च ११) गते नेपाल फर्किएको 'ट्राभल हिस्ट्री' बाट खुलेको हो ।
'ट्राभल हिस्ट्री' मार्फत खोजि सुरु गरेर भेटिएका उनीरुलाई बैशाख १४ गते नै जीतपुरसिमरा उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विशेष अस्तालको आइसोलेसन वार्डमा राखिएको थियो । सोही दिन उनीहरुको स्वाब वीरगंजको नारायणी कोभिड अस्पतालहुँदै काठमाडौंस्थित टेकु पठाइएको थियो । नेपाल आएको ४९औं दिनमा उनीहरुमा कोरोना पोजिटिभ पुष्टि भएको हो । उनीहरुलाई बुधबार वीरगन्जस्थित कोभिड अस्पताल लगिएको छ ।
कोरोना पोजिटिभ देखिने जीतपुरसिमरा उपमहानगरपालिका ७ का ४३ वर्षीय र सिम्रौनगढ ४ हरिहरपुरका ३१ वर्षीय पुरुष हुन् । सिम्रौनगढका पुरुषलाई जीतपुरसिमरा उपमहानगरपालिका १९ ईनर्वासिरास्थित मदर्शाबाट र जीतपुरका पुरुषलाई आफ्नै घरबाट नियन्त्रणमा लिएर कोरोना विशेष अस्पताल लगिएको थियो । सिम्रौनगढका पुरुष ईनर्वासिरामा रहेको मदर्शामा पढाउने मौलाना (शिक्षक) हुन् । मदर्शा बन्द रहेपनि नेपाल आएलगत्तै उनि त्यही बस्दै आएका थिए ।
संक्रमण देखिएपछि दुवैको 'ट्राभल हिस्ट्री' खोजी र 'कन्याक्ट ट्रेसिङ' सुरु गरिएको छ । त्यसका लागि नेपाली सेनाको नेतृत्वमा टोली बनाएर काम सुरु गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । 'संक्रमित भेटिएपछि सम्भावित जोखिम नियन्त्रणका लागि उनीहरुको सम्पर्कमा आएका व्यक्ति पहिचान गरी परिक्षण गर्न सेनाको नेतृत्वमा टोली खटिएको छ,' प्रजिअ पण्डितले भने,' त्यसबाहेक उनिहरु बस्दै आएको स्थानलाई सिल गरेर आवतजावत बन्द गरेका छौं।'
प्रहरीले उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका सातजनालाई बुधबारनै आइसोलेसनमा राखेको छ । उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि वीरगन्ज पठाइएको छ । जीतपुरका पुरुषको पत्नी, भाइसहित परिवारका पाँचजनालाई सिमरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । भाइको परिवारलाई भने घरभित्रै क्वारेन्टाइनमा रहने व्यवस्था मिलाएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पुरीले जानकारी दिए ।
सिम्रौनगढका मौलानालाई मदर्शामा खाना खुवाउने व्यक्तिलाई सिमरा र उनलाई मोटरसाइकल राखेर आवतजावत गर्ने चालकलाई भने वीरगन्जस्थित आइसोलेनमा राखिएको छ । मौलानाका मोटरसाइकल चालक वीरगन्ज गएको अवस्थामा उनलाई उतै नियन्त्रणमा लिएर आइसोलेसनमा राखिएको डीएसपीले बताए ।
संक्रमित दुई व्यक्ति नेपाल आएदेखि उनीहरुको कहाँ पुगे र कोसँग भेटे भन्ने कुरा पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासन यतिबेला लागिपरेको छ । वीरगन्ज कोभिड अस्पतालमा रहेका उनीहरुसँग फोनमा कुरा गर्दै प्रहरीले थप जानकारी लिइरहेको छ । 'हामीले अस्पतालबाटै जानकारी लिइराखेका छौं, फोनमा निरन्तर कुरा भइरहेको छ, 'डीएसपी पुरीले भने 'उनीहरुको सम्पर्कमा आएका सबैको परीक्षण गर्नेछौं।'
संक्रमित भेटिएलगत्तै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, नेपाली सेनाका प्रमुख सेनानी पारस बिक्रम शाह, प्रहरी उपरिक्षक कृष्ण पंगेनी, सशस्त्र प्रहरी उपरिक्षक दिगविजय सुवेदी, राष्ट्रिय अनुसन्धान बाराका उपअनुसन्धान निर्देशक बिमल घिमिरे, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैह्रेसहितको टोलीले संक्रमित बसेको स्थानको स्थलगत निरीक्षण गरेर सो क्षेत्रलाई सिल गर्न र प्रहरी निगरानी बढाएर आवतजावत रोक्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुवै स्थानमा प्रहरी परिचालन गरि निगरानी बढाएको डीएसपी पुरीले बताए।