गौरवका आयोजना निर्माण सुरु
सुर्खेत : लकडाउनबीच कर्णालीमा राष्ट्रिय गौरवका आयोजना निर्माणको काम सुरु भएका छन्। कोरोना त्रासका कारण एक महिनादेखि आयोजनाको काम रोकिएको थियो। तर, प्रदेश सरकारले मेसिन प्रयोग हुने आयोजना सञ्चालन गर्ने निर्णय गरेपछि निर्माणधीन गौरवका आयोजनामा काम पुनः सुरु भएका हुन्।
कर्णालीमा निर्माणधीन दुईवटा गौरवका आयोजनाको काम अगाडि बढेको हो। कालिकोटको खुलालुदेखि हुम्ला जोड्ने कर्णाली करिडोर र भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम सुरु गरिएको हो। कर्णाली करिडोरमा नेपाली सेनाले अहिले ट्र्याक खोल्ने काम गरिरहेको छ। यस्तै, बाँके र बर्दियामा सिंचाई तथा विद्युत् निकाल्ने लक्ष्यसहित हाल सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माणको काम भेरी बबई आयोजनामा भइरहेको छ।
लकडाउनकाबीच भेरी बबई आयोजनामा दोस्रो चरणको काम भइरहेको छ। लकडाउनले एक महिनासम्म काम प्रभावित भए पनि हाल निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बताए। भेरी नदीको चिप्लेमा निर्माणधीन ब्यारेजको काम थालिएको हो। उनकाअनुसार हाल ८० जना मजदुरले काम गरिरहेका छन्। ‘लकडाउन लम्बिए पनि निर्माण सामग्रीको अभाव हुँदैन,’ उनले भने, ‘आवश्यक परेदेशको जुनसुकै ठाउँबाट पनि निर्माण सामग्री ल्याउन सकिन्छ, मजदुरका लागि पनि खाना र बस्नको राम्रो व्यवस्था गरेका छौं।’
चिप्लेमा हाल भेरी नदीको पानी डाइभर्ट गरेर कफर ड्याम निर्माणको काम भइरहेको छ। वर्षात अगावै सक्नुपर्ने काम भएकाले उच्च प्राथमिकतामा राखेर काम भइरहेको आयोजनाले जनाएको हो। भेरीको पानी बबई नदीमा खसाल्न १२ किलोमिटर लामो सुरुङ निर्माणको काम यसअघि नै सकिएको छ। भेरीको पानी बबईमा खसालेर ४६ मेगावाट जलविद्युत् निकाल्ने तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाई गर्ने आयोजनाको लक्ष्य छ। हाल सुरुङ बाहिरको स्लोप निर्माणको काम पनि भइरहेको छ।
यस्तै लकडाउनका कारण महिनादिन रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पनि सुरु भएको छ। राष्ट्रिय गौरवको आयोजना निर्धारित समयमा सम्पन्न गर्न नेपाली सेनाले निर्माण कार्य अगाडि बढाएको हो। कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख इन्जिनियर एवम् सेनानी मिलन कार्कीले काम सुरु गरिएको बताए। उनकाअनुसार सामाजिक दूरी कायम गर्दै सावधानी अपनाएर हाल एकसय ५० भन्दा बढी मजदुर निर्माणमा खटिएका छन्। लकडाउन अघि करिडोरमा तीनसय भन्दा बढी नेपाली सेना र अन्य कामदारले काम गर्दै आएका थिए।
करिडोरअन्तर्गत खुलालुदेखि सलिसल्लासम्म एकसय २३ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ। जसमध्ये लकडाउन अगाडि एकसय १५ किलोमिटर ट्र्याक खनिसकिएको छ। असारसम्म ट्र्याक खनिसक्ने सेनाको लक्ष्य छ। यसैबीच प्रदेश सरकारले पनि प्रदेशमा संचालन भइरहेका विभिन्न ५० वटा आयोजनाको काम अगाडि बढाउने तयारी गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयकाअनुसार एक साताभित्र काम सञ्चालन गर्नेगरी आयोजनाको विवरण संकलन गर्ने काम भइरहेको हो। मेसिन प्रयोग हुने आयोजनालाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।