अलबिदा रानुदेवी
नेपाली नेपाली
क्रान्ति झण्डा लिइ
सबै मिली अघि बढौँ काधमा काध मिलाई ।
रेडियो नेपालमा पहिलो पटक ‘लाइभ’ गाइएको गीत हो यो । राणाशासन अन्त्य गर्नका लागि निर्णयकआन्दोलन चलिरहेका बेला थियो २००७ साल । उत्त गीतमा स्वर दिएकी थिइन् रानुदेवी अधिकारीले । रेडियो नेपालमा गीत गाउने पहिलो गायिका रानुदेवीको बिहीबार राति निधन भएको छ। ८६ वर्षीय अधिकारी अल्जाइमर रोगबाट पीडित थिइन् । विराटनगरकी रैथाने रानुदेवी काठमाडौं बत्तिसपुतलीमा कान्छी छोरी अल्पना रेग्मीसँग बस्दै आएकी थिइन् । उनका छोरा र जेठी छोरी अमेरिकामा छन् ।
उनकी छोरी अल्पना रेग्मीका अनुसार बिहीबार रराति खाना खाएर सुतिसकेपछि रानुदेवीलाई सास फेर्न अप्ठ्यारो भएको भयो । उनलाई राति नै सिनामंगलस्थित काडमाडौं मेडिकल कजेल अस्पताल पु¥याइयो । अस्पताल पुगेको केही समयपछि उनले जिवनको अन्तिम सास फेरिन्।
रानुदेवी र क्रान्तिका गीत एक अर्काको पर्याय जस्तै थियो । उनले राणाशासन कालमै गीत गाउन शुरु गरेकी हुन् । तारिणीप्रसाद कोइरालाको आग्रहमा उनले रेडियो नेपालमा ‘लाइभ’ गीत गाएर आन्दोलनकारीको हौसला बढाउने काम गर्थिन् । राणाशासनविरुद्धको आन्दोलनमा उनले थुप्रै गीत गाएकी थिइन् । सभा सम्मेलनमा पुगेर गीतमार्फत क्रान्तिको लागि आग्रह गरेकी थिइन् । आन्दोलनको एउटा यस्तो समय थियो जताततै रानुदेवीको आवाज घन्कन्थ्यो ।
मेरो मुटुको माझमा कस्को तस्विर, चरी भुर्र उडी घरमा मेरो जाउ, तिमी दुर देशका परदेशी, जुनेली रात हजुर गम्किन्छ बात हजुर, जस्ता मार्मिक गीतहरुमा उनले आवाज दिएकी छिन् । निरकंशु राणा शासनमा पनि आफ्नो ज्यानको पर्वाह नगरी आन्दोलनकारीलाई हौसाउने रानुदेवी एक शसक्त्त र साहसिक गायिका हुन् ।
घरायसी जिम्मेवारीका कारण संगीतलाई धेरै समय दिन भने सकिनन् । ११ वर्षअघि उनले सुमित खड्कासँग जाग नेपाली वोलको गीतमा स्वर दिएकी थिइन् । ७२ वर्षको उमेरमा गाएको यस गीतले उनलाई नेपाली संगीत क्षेत्रमा पुःन चर्चामा ल्याएको थियो। लामो समय गुमनाम बनेकी अधिकारी पुःन सक्रिय बनिन् । केही कार्यक्रमहरुमा पनि गीत गाइन् ।
राणाशासनको कठिन समयमा जन्मेर, नेपाली संगीतकै एउटा पहिचान बन्न सफल भइन् रानुदेवी अधिकारी । उनलाई पछिल्लो समय गायनमा सक्रिय बनाएका गायक सुमित खड्का रानुदेवीको मृत्युपछि आफूले अभिभावक गुमाएको बताउछन् । सुमितका अनुसार रानुदेवी पछिल्लो समय निकै थाकेको र गलेको अनुभव गरिरहेकी थिइन् । कुनै सांगीतिक कार्यक्रममा बोलाउदा जान चाहन्नथिन् । ‘म निकै थाकिसकेँ, निकै गलिसकेँ।’ रानुदेवी भन्थिन् । आफ्ना गीतको संरक्षण गरिदिने कोही नभएकोमा गुनासो गरिरहने अधिकारीलाई राष्टले पनि उचित सम्मान नदिएको खड्काको गुनासो छ । उनी भन्छन्, ‘ज्यानलाई हत्केलामा राखेर राष्ट निर्माणमा लागेकी रानुदेवीको योगदानको कदर कहीँ कतैपनि भएन।’