बर्खेधानलाई युरिया अभाव

बर्खेधानलाई युरिया अभाव

काठमाडौं : असारमा लगाइने बर्खेबाली धानको रोपाइँ गर्न युरिया मलको अभाव हुने भएको छ। रोपाइँ गर्ने मुख्य समय असारमा यो वर्ष ६५ हजार टन युरिया मलको नपुग हुने अनुमान गरिएको छ।

पहिलो टप ड्रेसिङ (रोपाइँ भएको २२ दिन) बाहेक १ लाख १० हजार टन युरिया र ७० हजार टन डीएपी रासायनिक मल आवश्यक पर्छ। तर, मल वितरण गर्ने दुई निकायसँग गरी कुल ४५ हजार टन मात्रै युरिया मल मौज्दात छ।

मौज्दात रहेको यही मलको भरमा देशभरका किसानले धानबाली लगाउनुपर्ने बाध्यता छ। धानबालीलाई अभाव देखिएको ६५ हजार टन युरिया तत्कालै भित्र्याउने सम्भावना न्यून छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीसँग अहिले २५ हजार टन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग २० हजार टन गरी कुल ४५ हजार टन युरिया मल मौज्दात छ। रासायनिक मल वितरण गर्ने ती दुवै निकायले आफैं स्वीकार गरेका छन् कि यो वर्ष किसानले युरिया मलको चर्को अभाव व्यहोर्न बाध्य हुन्छन्।

सरकारी सेवाप्रदायक कृषि सामग्री कम्पनीले लकडाउनका कारण समयमा युरिया मलको व्यवस्थापन गर्न नसकेको दाबी गरेको छ। कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले भने,‘लकडाउनका कारण समयमा आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा यो वर्ष किसानले युरिया मलको अभाव व्यहोर्न सक्ने सम्भावना बढेको छ।’

कम्पनीले यो वर्ष पनि पुरानै नियती दोहोराएका कारण किसानले युरिया मलको लागि अभाव व्यहोर्न बाध्य हुनेछन्। धानबालीलाई आवश्यक पर्ने मलको परिमाण प्रक्षेपण गरी कम्तीमा गत पुस माघ महिनामै ग्लोबल टेन्डर प्रक्रिया सुरु गर्नुपथ्र्यो। यो प्रक्रिया अपनाइएको भए यतिबेला लकडाउनको समयमा पनि ढुवानी व्यवस्थालाई प्रभावकारी बनाएर आवश्यक परिमाणमा युरिया मल भित्र्याउन सकिन्थ्यो।

कम्पनी स्रोतकाअनुसार नियतबस समयमा प्रक्रिया नचालिएका कारण कम्पनीलाई अभावको मौका देखाएर सरकारद्वारा सरकारसँग(जीटूजी) सुविधामा मल खरिद गर्ने बाटो खुलेको छ। अन्नपूर्ण पोस्ट्ले जीटूजी प्रक्रियामार्फत खरिद हुने मलमा करोडौं घोटाला भइरहेको विषयमा समाचार सम्पे्रषण गर्दै आएको छ।

‘केही उच्च अधिकारीको मिलेमतोमा युरिया मल भित्र्याउन समयमा टेन्डर प्रक्रिया सुरु गरिएन’, कम्पनी स्रोतले भन्यो,‘नियतबस कृत्रिम अभाव सिर्जना गरी जीटूजी प्रक्रियामा जान खोजिएको हो।’

साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महाप्रबन्धक पंकज जोशीले पनि युरिया मल भित्र्याउन समयमा प्रक्रिया नचालिएका कारण किसानले युरिया मलको अभाव व्यहोर्ने बताए। जोशीले भने, ‘लकडाउन नभएको भए हाम्रो एक लट युरिया मल आइसक्थो। तर, यो मल आइसके पनि अभाव यथावतै रहन्छ। किसानले सुलभ रूपमा यो वर्ष युरिया मल पाउने अवस्था छैन।’ नेपालमा कुल धान खेती हुने क्षेत्रफल १५ लाख ५२ हजार हेक्टर छ। यसमध्ये क्षेत्रफल र उत्पादनका आधारमा तराइँ क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। धानबाली सपार्न मुख्य गरी रासायनिक मल र सिँचाइको आवश्यकता पर्छ। नेपालमा अधिकांश धानबाली अकाशेपानीको भरमा हुने गर्छ। धान खेती हुने क्षेत्रफलमध्ये करिब २५ प्रतिशतमा मात्रै १२ महिना सिँचाइ सुविधा उपलब्ध छ। चालु आर्थिक वर्षमा बर्खेबाली धानको उत्पादनमा कमी आएको थियो। यो वर्ष ५५ हजार ५० हजार आठ सय ७८ टन धान उत्पादन भएको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष १.०५ प्रतिशतले धान उत्पादनमा कमी आएको थियो। यस्तै नेपालमा वार्षिक ४६ लाख ९२ हजार टन चामलको माग छ।

धानबाट उत्पादन हुने चामल नेपालीको प्रमुख खान्की हो भने धानलाई राष्ट्रिय बाली मानिन्छ। सरकारले चालु आर्थिक वर्षका लागि तोकेको मध्यम धानको समर्थन मूल्यअनुसार यो वर्ष एक खर्ब ४८ अर्ब ३८ करोड ३८ लाख ५० हजार मूल्यको धानको उत्पादन भएको थियो। मध्यम जातको धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ६ सय ७३ रुपैयाँ १६ पैसा तोकिएको छ। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा धानको योगदान करिब ८ प्रतिशत हाराहारी छ।

धानबालीलाई अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको छ। जुन वर्ष धानको उत्पादन घट्छ, त्यो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) को अवस्था पनि खुम्चिन्छ। धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्छ। धानको उत्पादनमा वृद्घि हुँदा अर्थतन्त्र पनि बलियो हुन्छ।

५९ हजार टन मल अलपत्र

साल्टले ओमानसँग खरिद गरेको २१ हजार ५ सय टन युरिया लकडाउनका कारण हालसम्म ओमानमै थन्किएको छ। यस्तै चीनबाट आउनुपर्ने १२ हजार ५ सय टन डीएपी पनि उतै थन्किएको छ। यस्तै लकडाउन र ढुवानी अवरोधका कारण कोलकाताको बन्दरगाहमा साल्टको १२ हजार ५ सय र कम्पनीको १२ हजार ५ सय टन डीएपी मल अलपत्र परेको छ।

साउन भदौमा पर्याप्त

आगामी भदौमा भित्र्याउने गरी साल्टले बिहीबार मात्रै ३० हजार टन युरिया र २० हजार टन डीएपी मलको लागि टेन्डर खोलेको थियो। यस्तै कृषि सामग्री कम्पनीले आगामी साउन महिनाभित्रमा भित्र्याउने गरी टेन्डर कवोलकर्तालाई तीन दिनभित्रमा एलसी खोल्न आउने विषयमा सम्पर्कमा आउन बिहीबार पत्राचार गरेको थियो। कम्पनीले २५ हजार टन युरिया र २५ हजार टन डीएपी मल भित्र्याउन छनोट भएका दुई कम्पनी युरियाका लागि सैलुङ इन्टरप्राइजेज र डीएपीका लागि होनिको इन्टरप्राइजेजलाई पत्राचार गरेको कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.