बर्सेनि आगलागीको त्रास

बर्सेनि आगलागीको त्रास

ताप्लेजुङ : फुङलिङ बिहीबारेका यीगेन्द्रकुमार गुरुङले ०६० सालको आगलागीमा ३७ लाख रुपैयाँ हाराहारीको क्षति व्यहोरे। वीरेन्द्र चोकमा लागेको आगोले त्यसबेला भर्खरै थालेको स्टेसनरी पसल जलेको थियो। घरबारी धितो राखेर २०६१ मा बैंकबाट ऋण लिए र उनले पुरानो बैंक लाइनमा नयाँ स्टेसनरी सुरु गरे।

शुक्रबार रातिको आगोले उक्त पसल पनि खरानी बनाएको छ। दुवै आगलागीमा लगानी सखाप भएपछि गुरुङलाई ऋणमाथि ऋण थपिएको छ। ‘पहिलेको ऋण नै चुक्ता गर्न सकेको थिइनँ,’ उनी भन्छन्, ‘अब घरबारी उकास्नै नसक्ने अवस्थामा पुगेँ।’ बर्सेनि हुने आगलागीले गुरुङजस्ता धेरै व्यवसायीलाई उठीबास लगाएको छ। शुक्रबार राति पुरानो बैंक लाइनस्थित एक होटलबाट सुरु भएको आगोले घर, होटल र ट्याक्सी काउन्टर गरी १२ वटा संरचना, विभिन्न संघसंस्थाका कार्यालय जलेका छन्।

२८ परिवार विस्थापित भएका छन्। राति साढे १० बजे सुरु भएको आगो शनिबार बिहान मात्रै नियन्त्रणमा आएको थियो। आगो पूर्ण नियन्त्रणमा लिन पाँचथरस्थित फिदिम नगरपालिकाको दमकल आएको थियो। स्थानीय खेम केसीको ४ तले पक्की घरसहित नेत्रबहादुर कार्की, खेमराज कार्की, चन्द्रप्रसाद निरौला, खड्ग थापा, ठगबहादुर कार्की, नारायण भट्टराईं, हस्तमाया लेछर्वो र रामकुमार शाहको घर पूर्णरुपमा जलेको छ। केसीको घरमा अलैंची र खाद्यान्नको गोदामसहित पसल थियो भने अन्य घरमा होटल, स्टेसनरी र चिया पसल थिए।

जिल्ला फुटबल संघ, जिल्ला प्याब्सन, अलैंची व्यवसायी संघ, कांग्रेस जिल्ला कार्य समितिको कार्यालय पनि जलेका छन्। प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ। तथ्यांक सार्वजनिक हुन समय लाग्ने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख मोहन पोखरेलले बताए। फुङलिङ बजारमा पटक-पटक आगलागीका घटना दोहोरिरहेका छन्।

एक÷दुई घर जल्ने गरी बर्सेनि आगो लागिरहेको छ। वीरेन्द्र चोक, तोक्मे क्षेत्र, शेर्पा टोल र टुक्रेमा आगलागीका ठूला घटना भएका छन्। २०६० चैत १५ गते वीरेन्द्र चोकमा भएको आगलागीमा ४५ घर जल्दा ५१ करोड हाराहारीमा क्षति भएको थियो। त्यसैगरी ०७१ चैत ९ गते तोक्मेबजार भएको आगलागीमा ४४ घर जल्दा ३० करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ। त्यसअघि २०६९ माघमा शेर्पा टोलमा ८ घर जलेका थिए। जसमा २ करोड ५० लाख र ०७० साल कात्तिकमा टुक्रे बजारको आगलागीमा ५ घर जल्दा १ करोड ५० लाखको क्षति भएको थियो।

असावधानीले लाग्छ आगो

मानिसले सावधानी नअपनाउँदा र हेल्चेक्र्याइँले आगलागीका घटना हुने गरेका छन्। वीरेन्द्र चोकको आगलागी टुकी बत्तीबाट, तोक्मेमा होटलमा रक्सी झान्दा चुलोमाथि सुकाएको दाउरामा सल्किएर, टुक्रेमा सेलरोटी पकाउँदा र शेर्पा टोलमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो। ‘मानिसले सावधानी नअपनाउँदा धेरै घटना हुने गरेको छ,’ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे भन्छन्, ‘आगोमा काम गर्दा, विद्युतीय उपकरण चलाउँदा होसियार हुनुपर्छ।’ चुलोमा काम गर्ने विधिबारे तालिम नै सञ्चालन गर्न आवश्यक रहेको घिमिरेको भनाइ छ। फुङलिङमा काठ र जस्तापाताले बनाइएका कच्ची घर धेरै छन्।

हालसम्म त्यस्तै घरबाट बढी आगो लाग्ने गरेको पाइएको छ। पछिल्लो समय पक्की घर बन्ने क्रम बढे पनि जस्तापाताकै छानो लगाउने चलन छ। अव्यवस्थित रूपमा स-साना टहरा बनाएर पसल गर्ने क्रमले पनि जोखिम बढाएको रेडक्रस जिल्ला सभापति इन्द्र गुरुङले बताए। ‘यस्ता टहरालाई तुरुन्त नगरपालिकाले व्यवस्थापन गर्नुपर्छ र मापदण्डअनुसार घर बनाउन प्रेरित गर्नुपर्छ,’ उनले भने।

०७१ सालमा तोम्मेडाँडामा आगो लागेपछि बजारमा दमकल खरिद गर्ने ठूलै बहस भयो। चौतर्फी मागपछि नगरपालिकाले दमकल त खरिद गर्‍यो तर त्यसको व्यवस्थापन गर्न हालसम्म सकेको छैन। दमकल राख्ने ठाउँ नहुँदा बेवारिसेजस्तै छ। कहिले नगरपालिका अघि, कहिले प्रशासन कार्यालय र कहिले बजारको सडकमा राख्ने गरिएको छ। बारम्बार बिग्रिरहने दमकललाई पानी भर्ने स्थानसमेत छैन। समयमा दमकलले पानी भर्न नसक्दा शुक्रबार ठूलो क्षति पुगेको स्थानीय सन्दीप सुवेदी बताउँछन्। ‘दमकलले पानी भरेर आउँदा एक घण्टाभन्दा बढी समय लाग्यो,’ उनी भन्छन्,‘ समयमै पानी भरेको भए आगो छिट्टै निभ्ने सम्भावना थियो, यसमा नगरपालिकाले ध्यान दिनुपर्छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.