भारतबाट लुकिछिपी भित्रिँदै
भैरहवा : सीमामा सुरक्षाकर्मी परिचालन गरी आवतजावत रोकिए पनि भारतमा रोजगारी गर्न गएका नेपाली लुकिछिपी स्वदेश आइरहेका छन्। ‘भारतबाट आएका अधिकांशले मर्चवार र कपिलवस्तुको नाकाबाट लुकेर भित्रिरहेको बताएका छन्’, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले भने, ‘कोरोना भाइरस संक्रमणबाट जोगिन सीमामा कडाइ आवश्यक छ।’
कोटहीमाई गाउँपालिकामा सीमाबाट लुकेर आएका २५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको छ। त्यसपछि स्थानीय तह र प्रशासन सीमामा थप कडाइ गर्न लागिपरेका छन्। रूपन्देहीका कोटहीमाई गाउँपालिका, मर्चवारी, सम्मरीमाई, रोहिणी र लुम्बिनी सांस्कृतिक नगरपालिकाको गरी ५९.७ किलोमिटर सीमा भारतसँग जोडिएको छ। दुई देशबीच खुला सीमाका कारण उनीहरू रातिको समयमा खेतै खेत हँुदै भित्रिरहेका हुन्। सीमा क्षेत्रका बासिन्दा सचेत रहेका कारण उनीहरूलाई तत्काल क्वारेन्टाइनमा पठाउने गरिएको छ।
मर्चवारी गाउँपालिकामा १ सय ४२, सम्मरीमाईमा चार भारतीयसहित १८, कोटहीमाईमा २८ जना क्वारेन्टाइनमा छन्। यी तीनै तह मर्चवार क्षेत्रमा पर्छन्। क्वारेन्टाइनमा ८० प्रतिशत नागरिक सीमा बन्द भएपछि लुकेर आएका रहेको सम्बन्धित तहका स्वास्थ्य प्रमुखहरूले जनाएका छन्।
मर्चवारीमा शनिबार मात्रै लुकिछिपी आएका चार जनालाई क्वारेन्टाइनमा राख्ने तयारी रहेको स्वास्थ्य प्रमुख विनोद बरईले बताए। उनका अनुसार लुकेरै आएका १ सयभन्दा बढी क्वारेन्टाइनमा छन्। सम्मरीमाईमा पनि शनिबारै आएका दुई जनालाई क्वारेन्टाइनमा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख मुन्सी माझीले बताए।
‘सीमामा आएर खेततिर लुकेर बसेका हुन्छन्’, उनले भने, ‘सुरक्षाकर्मी अलिकता यताउता हुनेबित्तिकै छिरिहाल्छन्।’ क्वारेन्टाइनमा रहेका १६ जनाको पीसीआर परीक्षण गर्दा शुक्रबारसम्म सबैको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई जना आएर बसेको घरमा ट्रेस गरिएको र उनीहरूलाई क्वारेन्टाइनमा ल्याउने तयारी भइरहेको मेयर चौधरीले बताए। यसअघि लुम्बिनीको क्वारेन्टाइनमा ३६ जना बसेका थिए। उनीहरूको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ।
रोहिणी गाउँपालिकाको क्वारेन्टाइनमा ५ जना छन्। उनीहरु पनि सीमा बन्द भएपछि लुकेर नेपाल प्रवेश गरेका थिए। त्यसबारे सूचना पाएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष सनोज यादवले बताए।
सीमाबाट आवतजावत कडाइ गरिएपछि तरकारी लिएर, भैंसी खेद्दैलगायत उपाय अपनाएर भित्रिँदा पहिचान गर्न समस्या पर्ने गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। सीमाबाट भित्रिन नदिन स्थानीय जनप्रतिनिधि र बासिन्दाको सहयोग आवश्यक रहेको उनको भनाइ छ। ‘सीमामा थप कडाइ गर्नका लागि विभिन्न विषयमा छलफल भइरहेको छ’, उनले भने।