रुपन्देहीमा संक्रमितको सम्पर्कमा आएका १० जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'
भैरहवा : रुपन्देहीको कोटहीमाई गाउँपालिका १ का २५ वर्षीय कोरोना संक्रमित युवाको ‘डाइरेक्ट कन्ट्याक्ट’ मा आएका दुई जनासहित दश जनाको रिपोर्ट नेगेटिभ आएको छ । बैशाख ५ गते राति ठोठरी नाकाबाट लुकेर भित्रिएका ती युवा त्यही रात आफ्नो दाई र साथीको ‘डाइरेक्ट कन्ट्याक्ट’ मा आएका थिए ।
युवामा संक्रमण पुष्टि भएपछि दाईको ७ जना परिवार सदस्य र साथीको तीन जना परिवार सदस्यलाई क्वारेन्टाइनमा राखेर उनीहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको थियो । श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका मध्ये १० जना स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
‘संक्रमितको ‘डाइरेक्ट कन्ट्याक्ट’ मा आएका दाई र साथी सहित १० जना रिपोर्ट नेगेटिभ आएको छ’ निमित्त प्रमुख गिरीले अन्नपूर्णसगँ भने, ‘यो हामी सबैको लागि गुड न्यूज हो ।’
त्यस्तै संक्रमितको सम्पर्कमा आएका सम्मरीमाई गाउँपालिकाका सात जना र मर्चवारी गाउँपालिकाको चार जना गरी ११ जनालाई स्वास्थ्य परिक्षणका लागि स्थानीय क्वारेन्टाइनमा राखिएको छ ।संक्रमितको साथमा क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिहरुलाई परिक्षणको दोस्रो क्याटोगरीमा राखिएको र उनीहरुको पनि स्वास्थ्य परिक्षण गरिने डा. गिरीले बताए ।