क्वारेन्टाइन नपुग्दै मृत्यु
![क्वारेन्टाइन नपुग्दै मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/quarentine_20200329142631_yttDh1kHQ1.jpg)
बैतडी : भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक नेपालीको मृत्यु भएको छ । बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकाली बस्ने ६७ वर्षीय जुने लुहारको शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थिए । एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए । उनको शनिबार बिहान हिँड्दाहिँड्दै मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । उनले भने, 'लुहार उपचारकै लागि पिथौरागढ गएको भन्ने बुझिएको छ । लकडाउनपछि उनी उतै छोरी ज्वाँइसँग बसेका थिए । १८ गते नाका खुलेपछि उनी पनि घर फर्केका हुन् ।'
मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए । मृतक लुहारको शवलाई प्लास्टिकले बेरेर सुरक्षात्मक तरिकाले दाह संस्कारका लागि आफन्तलाई भनेको पनि कुँवरले बताए । उनले भने, 'लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्ने भनेका छौं । दाहसंस्कार गर्दा पनि सुरक्षाका उपाय अपनाएर मात्रै गर्न भनेका छौं ।'
यही बैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए।उनीहरु मध्ये ८४८ जना पुर्चौंडी नगरपालिकाका छन् । भारतबाट फर्केका सबैलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)