जिल्ला बाहिर अलपत्र परेकालाई राहत
मुगु : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गते देखि लागू भएको लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई बसेकै स्थानमा राहत वितरण गरिएको छ । खत्याड गाउँपालिकाले जिल्ला बाहिर अलपत्र परेका आफ्ना नागरिकलाई बसेकै स्थानमा राहत वितरण गरेको हो।
जिल्लाका चार स्थानीय तहमध्ये छाँयानाथ रारा नगरपालिका, सोरु र मुगुम कार्मारोङ गाउँपालिकाले लकडाउनका कारण काठमाडौं, नेपालगन्ज र सुर्खेतमा अलपत्र परेका आफ्ना स्थानीयलाई उद्दार गरे जिल्ला भित्र्याएका छन्।
पहिलो चरणमा काठमाडौं उपत्यकामा १ सय २२ , नेपालगंजमा १ सय २८ सुर्खेतमा २ सय ५९ जनालाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले चामल, नुन, तेल, दाल, चिनी, चिउरालगायतका खाद्यान्न शुक्रबारबाट सम्बन्धित जिल्लाका स्थानीय निकायसँग समन्वय गरी वितरण गरिएको राहत वितरण टोलीका भक्त रावलले जानकारी दिए।
टोलीले काठमाडौं उपत्यकामा ४ सय ५०, नेपालगंजमा ४ सय ७३ र सुर्खेतमा ३ सय ५९ जनाको तथ्यांक संकलन गरेको थियो। । लकडाउनका कारण अलपत्र परेका कतिपय स्थानीयलाई घर फर्काइएको छ। 'आफूजस्तै अन्य खत्याडबासी कसरी घर फर्कर्ने चिन्तामा थियौं, राहत पाएपछि खुसी लागेको भक्तपुरमा रहेका खत्याड गाउँपालिका ३ राजन सिंहले बताए।