‘अंग्रेजी मिडियम’ बाट इरफान हेर्दा
काठमाडौं : अभिनेता इरफान खान अभिनय मात्रै गर्दैनथे, चरित्रलाई बोकेर हिँड्थे। रियल लाइफ र रिल लाइफलाई एकै ठान्ने इरफानमा बेजोडको अभिनय क्षमता थियो। उनले अभिनय गरेका अधिकांश भूमिका पात्र प्रधान छन् जसलाई उनले शतप्रतिशत न्याय गरेका छन्। अभिनयमा चरित्र बोकेर हिँड्ने इरफानको गत बुधबार निधन भयो। आफ्नो शरीरमा क्यान्सर देखिएपछि उनले अभिनय गरेको फिल्म हो, ‘अंग्रेजी मिडियम’।
२०२० मार्च १३ मा रिलिज भएको यो फिल्म कोरोनाको चपेटामा पर्यो। ३६ करोडमा निर्माण भएको फिल्मले बक्स अफिसमा खासै कलेक्सन गर्न सकेन। युट्युबमा भने अपलोड भएको १७ घण्टामा डेढ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। होमी अड्जानी निर्देशक रहेको यो फिल्मलाई दिनेश भिजन र ज्योतिदेश पाण्डेले निर्माण गरेका हुन्।
अंग्रेजी मिडियम फिल्म सपनाको कथा हो। छोराछोरीको रहर पूरा गर्न हरसम्भवले खटिरहने बुवाको सपना। हुर्के बढेर सन्तानले विदेशमा गएर राम्रो कलेजमा पढ्ने र सुखसुविधा अपनाउने सपनाको कथा हो। छोराछोरीको सपना बुवाआमाका लागि कति गह्रौ पर्छ, अंग्रेजी मिडियमले समेटेको छ।
चम्पक वंशलको पुख्र्याैली मिठाई पसल छ राजस्थानमा। जुन घसिटेरामको नामबाट चर्चित छ। उनीहरूको पसलमा पाइने मिठाईको चर्चा सहरभरि छ। चम्पकको भूमिकामा छन् इरफान। उनको एउटा गोपी नामको भाइ पनि छ। उनीहरू झगडा गरिरहन्छन्। चम्पकको पसल नजिकै गोपीले पनि घसिटेराम नामक अर्को पसल खोल्छ। उनीहरू दुवैले आफूलाई नै असल घसिटेरामको हकदाबी रहेको खुलासा गर्छन्। झगडा दाजुभाइमा सीमित रहँदैन, अदालतसम्म पुग्छ। अदालतका जजले गोपीबाट घूस खाएर प्रक्रिया नै नपुर्याई गोपीलाई घसिटेरामको कानुनी आधार दिलाइदिन्छन्।
दाजुभाइको झगडा, चम्पकको बिहे, छोरी तारुकाको जन्म, मुद्दा मामला र अदालतको दृश्यसँगै फिल्म अगाडि बढ्छ। शनिबार युट्युबमा सार्वजनिक भएको अंग्रेजी मिडियमको कथावस्तुभन्दा पनि इरफानको अभिनयले बाँधिराख्छ। उनको आँखाको संवाद, अनुहारको भावभंगीले नतमस्तक बनाउँछ। उनी बोलेरभन्दा अनुहारको एक्प्रेसन र आँखाले अभिनय गर्छन्। फिल्म हेर्दै गर्दा धेरै ठाउँमा उनमा दर्शकले आफ्नै बुवा भेट्टाउँछन् जो सन्तानका ससाना सपना पूरा गर्न आफूलाई बेचिदिन्छन्। आफू रित्तो बन्छन् तर पूर्ण भएको बहाना गरिरहन्छन्।
पढाइमा अब्बल श्रीमती बिहे गर्छन् उनी। सानैदेखि मिठाई पसल चलाएका चम्पकलाई भने पढाइको खासै मतलव छैन। श्रीमतीलाई पसलमै सहयोग गर्न आग्रह गर्छन्। छोरी तारुका जन्मिएपछि उनले श्रीमती गुमाउँछन्। तारुकालाई बुवा र आमाको माया दिँदै पालनपोषण गर्छन्।
लन्डनस्थित युनिभर्सिटीमा पढ्ने सपना छ तारुकाको। तारुकाको भूमिकामा छिन् राधिका मदन। पटकपटक लन्डन जाने ढिपी गरिरहन्छिन्। उनलाई आत्मनिर्भर भएर स्वतन्त्र बाँच्ने रहर छ। उता चम्पक भने छोरीलाई आफूभन्दा टाढा पठाउन चाहँदैन। छोरी आफ्नो जिम्मेवारी हो भन्ने ठान्ने चम्पक उसलाई कडा अनुशासनमा हुर्काइरहेको छ। छिमेकी साथी गजुले सम्झाएपछि ऊ छोरीलाई लन्डन पठाउन तयार हुन्छ।
तारुकाको परीक्षा तयारी, ८५ प्रतिशतमात्रै ल्याएर छात्रवृत्ति गुमाउँदाको क्षण, तारुको लन्डन यात्रा, कलेजमा प्रिन्सिपलसँगको द्वन्द्व, कलेज भर्ना गर्न लन्डन जान पाएको दुःख, पासपोर्टमा पाकिस्तानी परिचय बोकेर पुनः लन्डन पुग्ने कोसिससँगै चम्पक र गोपीको दःुख, पीडाको दृश्यसँगै फिल्म अगाडि बढ्छ।
अमेरिका, जापान, अस्ट्रेलियाको चक्करमा पछिल्लो समय युवापुस्तामा मौलाउँदै गएको विदेश मोहलाई फिल्मले खोतलेको छ। निम्नवर्गीय परिवारमा जन्मिएका युवाले युरोपको सपना देख्नु आमाबुवाको लागि कति ठूलो भार पर्न सक्छ, यसले प्रस्ट पारेको छ। छोराछोरीको खुसीका लागि आफ्नो परिवारकै इज्जत, सम्पत्ति, नाम बेच्न तयार हुने बुवाहरूको प्रतिनिधित्व गर्छ चम्पक वंशलले।
फिल्ममा इरफानले गजबको अभिनय गरेका छन्। फिल्म हेर्दै गर्दा उनी कलाकार कम र आफन्त बढी लाग्छन्। उनले बोलेका संवाद, जीवनका घटना दर्शकका आफ्नै हुन् जस्तो लाग्छ।
फिल्ममा इरफानका अलावा करिना कपुरको पनि उत्कृष्ट भूमिका छ। लन्डनमा पुलिस अफिसर नैनाको रूपमा उनले गरेको अभिनय तारिफयोग्य छ।
तीन सय ५० करोड छोडेर गए इरफान
बुधबार निधन भएका बलिउड अभिनेता इरफान खानले परिवारका लागि तीन सय ५० करोडको सम्पत्ति छोडेर गएका छन्। मिडिया रिपोर्ट्सअनुसार जुहुमा उनको एक आलिसान फ्ल्याट छ। इरफान एक दिग्गज अभिनेता थिए जसले छोटो समयमा बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको जादु देखाए।
इरफानलाई आफ्नो फिल्ममा खेलाउन निर्माताहरू उनले मागे जति रकम दिन तयार हुन्थे। उनले एउटा फिल्मका लागि १५ करोड रुपैयाँ पारि श्रमिक लिन्थे। यसका साथै इभेन्टमा भाग लिन अनि विज्ञापनमा अभिनय गरेबापत उनी गहकिलो पारि श्रमिक लिन्थे। उनी फिल्मको पारि श्रमिकको अलावा नाफाको सेयर पनि लिन्थे। उनले हलिउड फिल्मबाट पनि राम्रो कमाइ गरे। फिल्म जुरासिक वल्र्ड र द नेमसेकजस्ता हलिउड फिल्ममा उनले अभिनयको करिश्मा देखाए। उनले धेरै हलिउड प्रोजेक्टमा काम गरे। इरफानकी पत्नी सुतपा र छोरा छन्। एजेन्सी