क्वारेन्टाइन जाँदै गर्दा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ
बैतडी : क्वारेन्टाइन जाँदै गर्दा बाटोमै मृत्यु भएका बैतडीका जुने लुहारको कोरोना रिपोट नेगेटिभ आएको छ। बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको धनगढीस्थित प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
उनले भने ‘भारतबाट फर्केका लुहारको मृत्यु भएपछि हामीले कोरोना आशंकामा स्वाब संकलन गरेर धनगढी पठाएका थियौं। स्वाब परीक्षण गर्दा रिपोट नेगेटिभ आएको छ।’
यही वैशाख २० गते क्वारेन्टाइनमा जाँदै गर्दा बाटोमै लुहारको मृत्यु भएको थियो। उनी यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए। एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए।
बैतडीमा अहिले भारतबाट फर्केका १ हजार ३१९ जना क्वारेन्टाइनमा बसेका छन्। उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ।