तस्करी गर्न नपाएपछि प्रहरीमाथि ढुंगामुडा
परासी : भारतसँग सीमाना जोडिएको पश्चिम नवलपरासीको सरावल गाउँपालिका भूजहवास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी स्थायी पोष्टमाथि सोमबार आक्रमण भएको छ । आक्रमण गर्ने भारतबाट अवैध रुपमा नेपालतर्फ विभिन्न सामान ओसारपसार गर्ने कारोबारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
धानको बीउ किन्न सिमावर्ती भारतीय बजारमा जान पाउनुपर्ने भन्दै उनीहरुले पोष्टमाथि ढुंगामुडासहित आक्रमण गरेका हुन् । ढुंगामुडा गर्ने अधिकांश व्यक्ति विगतमा भारतबाट अवैध सामान भित्राउने कारोबारी रहेको स्थानीयले बताएका छन् ।
सोमबार राती ९ बजेतिर आएका ५०÷६० जनाको समूहले बीउको बहाना निकालेर पोष्टमाथि ढुंगामुडा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए । 'बीउको बहाना मात्र हो, उनीहरु विगतमा अवैध सामान ल्याउने पृष्ठभूमिका हुन्,' खनियाँले भने ।
ढुंगामुडा हुँदा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी समेत पोष्टमा थिए । उनी सीमा क्षेत्रको अवलोकन गरेर थप जानकारी लिन पोष्ट पुगेका थिए । अध्यक्ष आएको देखेपछि केही व्यक्तिह बीउ किन्न भारत जानका लागि सशस्त्रले रोकेको भन्दै आक्रोश पोखेका थिए । ढुंगामुडा हुन थालेपछि सशस्त्र प्रहरीले लाठी चार्ज गरी भीडलाई तितरवितर पारेको थियो ।
जिल्लाका किसानले हाइब्रिड धानको बीउ लगाउने गरेका छन् । हाइब्रिड बीउ नेपालमा उपलब्ध नहुने भएकाले विगतमा किसान भारतीय बजार जाने गरेका थिए । बीउको बहाना निकालेर कारोबारीले पोष्टमा ढुंगामुडा गरेको शसस्त्र प्रहरीले जनाएको छ ।' लकडाउनको समयमा बीउ किन्न भएपनि भारत जान दिने कुरा भएन तर त्यहाँ आएका अधिकांश व्यक्ति विगतमा २ नं. गर्ने थिए,' अध्यक्ष चौधरीले भने ।
कारोबारमा कडाई हुन थालेपछि उनीहरुले विगतमा पनि विभिन्न बहाना निकालेर सुरक्षाकर्मीसँग झगडा गर्ने गरेको चौधरीले बताए ।