बलात्कार आरोपित पक्राउ
राजविराज : सप्तरीको राजगढ गाउँपालिकामा बलात्कार गरेको आरोपमा गाउँलले घटनास्थलबाटै एक युवकलाई पक्राउ गरेका छन् ।
एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिएका हुन् । घटनास्थलबाट पक्राउ परेका रामलाई गाउँलेले निर्घात कुटपिट समेत गरेका छन् ।
सुरक्षा बेस क्याम्प पत्थरगाढालाई जिम्मा लगाएपछि पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी मङ्गलबार दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण र प्रारम्भिक वयानपछि घटनास्थलबाट पक्राउ परेका आरोपितविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी तिलक भारतीले बताए । आरोपितविरुद्ध मङ्गलबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न लागिएको डिएसपी भारतीले बताए ।
घरमा सुतिरहेका बेला आइतबार राति प्रवेश गरेका आरोपितले बलात्कार गरेको र उनीसँगै आएका अपरिचित अन्य दुई जना फरार भएको पीडितले बताइन् । आरोपितले आरोप अस्विकारगरेका छन् ।
दुई साता अघि सोही गाउँपालिकाका रामजीवन यादवलाई १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय रामजीवन यादवले जवरजस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लागि बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका यादवविरुद्ध कारवाही भइरहेको प्रहरीले जनाएको छ ।