एसएसबीको कुटपिटपछि सीमामा उत्पन्न विवाद साम्मे
बारा : भारतीय सीमा सुरक्षा बल (एसएसबीण का जवानले नेपाली नागरिकलाई कुटपिट गरेपछि बाराको बिश्रामपुरमा उत्पन्न विवाद नियन्त्रणमा आएको छ । सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका एसएसबीका जवानले बिश्रामपुर -४ बलिरामपुरका छोटेलाल साहलाई हातपात गरेपछि मंगलबार केहीबेर स्थिति तनावपूर्ण बनेको थियो । नेपाल र भारतका सुरक्षा अधिकारीले आफ्नो देशका नागरिकलाई सम्झाउँदै स्थिति नियन्त्रणमा लिएका हुन्।
लकडाउनको समयमा नेपाल-भारत सीमा क्षेत्र नजिक रहेको आफ्नो खेतमा गएका बेला साहलाई नियन्त्रणमा लिएर एसएसबीका जवानले कुटपिट गरेको पीडितको भनाई छ । साह सोमबार साँझ खेतमा गएका थिए ।
एसएसबीका जवानले कुटपिट गरेको भन्दै साहसहित केही स्थानीय मंगलबार बिहान सीमा क्षेत्र पुगेर विरोध गरेपछि भारततर्फका नागरिक समेत सो क्षेत्रमा आइपुगेका थिए । नेपाल र भारततर्फका नागरिक सीमा क्षेत्रमा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
सीमामा दुई देशका नागरिकबीचको विवादले उग्ररुप लिन नपाउँदै दुवै देशका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका थिए । बारा सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुबेदीले दुवै पक्षका नागरिकलाई सम्झाएर घर फर्काएको जानकारी दिए ।
खेतमा गएको बेला कुटपिट गरेको भन्दै सीमा क्षेत्रमा पुगेर स्थानीयले आक्रोश व्यक्त गतेपछि स्थिति केहीबेर असामान्य बनेको थियो,' सुवेदीले भने, 'अहिले सम्झाएर पठाएर छौं, स्थिति नियन्त्रणमा आइसकेको छ।'